खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयतित कुखुराको मासु प्रतिबन्ध लगाउने तयारी गरेको छ । नगरपालिका भित्र स्थानीय स्तरमा उत्पादन भएका कुखुराको मासु मात्र बिक्री गर्ने गरी तयारी गरिएको मेयर विमला राईले बताईन ।
बाहिरबाट ल्याइएको ब्रोइलर लगायतका कुखुराको मासु गुणस्तरीय नहुने र स्थानीय स्तरमा कृषकले उत्पादन गरेको कुखुराले बजार नपाउने समस्या रहेको कारण आयतित कुखुराको मासु प्रतिबन्ध लगाउने तयारी गरिएको नगरप्रमुख राईले बताईन ।
नगरपालिका भित्र करिब २० वटा कुखुरा फर्महरु रहेका छन् । उक्त फर्ममा उत्पादन हुने कुखुराको मासुले नगरपालिका भित्रका उपभोक्तालाई प्रसस्त हुनेछ । जसकारण बाहिरबाट कुखुरा आयत गरिरहनु नपर्ने देखिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको उक्त निर्णयले उपभोक्ताले स्वच्छ, स्वस्थकर मासु पाउने छन् । साथै स्थानीय फर्मले उत्पादन गरेका कुखुरा सबैको बजारीकरण हुने नगरप्रमुख राईले बताईन ।
आयतित कुखुराको मासुलाई प्रतिबन्ध लगाउने नगरपालिकाको योजना अनुसार कुखुरापालक फर्म सञ्चालक, मासु पसल सञ्चालक लगायतको उपस्थितिमा छलफलसमेत गरिसकेको नगरपालिकाले जनाएको छ ।
उक्त छलफलले एक महिना भित्रमा साझा समन्वय संजाल निर्माण गर्ने र प्रक्रिया अगाडि बढाउने बताइएको छ ।
यस्तै, आयतित कुखुराको मासुलाई प्रतिबन्ध लगाएर स्थानीय उत्पादन भएका कुखुराको मासुको दररेटसमेत कायम गरी एकरुपता ल्याउने नगरप्रमुख राईको भनाईछ ।