खोटाङ । कोशी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले खोटाङ जिल्लामा १६ वटा पूर्वाधार विकास योजनाका लागि ८२ करोड ७९ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरी बोलपत्र आह्वान गरेको छ ।भौतिक पूर्वाधार विकास कार्यालय दिक्तेलका प्रमुख इन्जिनियर विनम दाहालका अनुसार मन्त्रालयबाट खोटाङमा सञ्चालन हुने योजनाहरुमध्ये १६ योजनाको बोलपत्र आह्वान भइसकेको छ । बाँकी योजनाहरूका लागि समेत चाँडै बोलपत्र आह्रवान लागि तयारी भइरहेको उनले जानकारी दिए ।
सदरमुकाम दिक्तेलदेखि दक्षिणी क्षेत्र जोड्ने खानीडाँडा–याम्खा रातमाटा–दिप्रुङ चुइचुम्मा–पञ्चमी सडकको कालोपत्रका लागि बोलपत्र आह्वान गरिएको छ । करिब ३० करोड रुपैयाँको सडक कालोपत्रे गर्ने गरी बोलपत्र आह्वान गरिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशको २९ करोड ९९ लाख ८७ हजार तीन सय ८९ रुपैयाँको लागतमा करिब ८ किलोमिटर सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको हो ।
खानीडाँडा–याम्खा रातमाटा–दिप्रुङ चुइचुम्मा–पञ्चमीसम्मको १५ किलोमिटर सडकका लागि ६२ करोडको लागत अनुमान भए पनि ३० करोडको मात्र स्रोत सुनिश्चित भएको दाहालले सुनाए । यसबाट ५० एमएमको मोटाइ, पाँच मिटर पाँच सेन्टिमिटर चौडाइ भएको ८ किलोमिटर अस्फाल्ट कङ्क्रिट सडक बन्ने दाहालले जनाएका छन् ।
जिल्लाको दक्षिणी भेगका दिप्रुङ चुईचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र बराहापोखरी गाउँपालिकासम्मका नागरिकको सदरमुकामसँग जोड्ने लाइफलाइन सडक भएकाले कालोपत्रेका लागि बोलपत्र आह्रवान भर्ई सकेको भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बताए ।
यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशबाट नेपाल पत्रकार महासंघ खोटाङको भवन निर्माणका लागि तीन करोड, बंङ्सिलाघाट बेलिबृज जडानका लागि एक करोड, दिक्तेलबजार ढलानका लागि एक करोड, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ सडक स्तरोन्नतिका लागि एक करोड, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले देखि हलेसी तुवाचुङ नगरपालिका–११ जोड्ने दिखुवा खोला सडक पुल निर्माणका लागि तीन करोड, कारागारदेखि ढाँडेखोला–निगाले–सिद्धेश्वरी आधारभूत विद्यालय हुँदै मध्य पहाडी राजमार्गसम्म सडक स्तरोन्नतिका लागि एक करोड बजेट बिनियोजन गरेर योजना सञ्चालनका लागि बोलपत्र आह्रवान गरिएको भौतिक पूर्वाधार विकास मन्त्रीका प्रमुख स्वकीय अमृत गिरीले जानकारी दिए ।
यस्तै, बैंक चौंक झिसेपू सडकका लागि २५ लाख, दिक्तेल–सोल्मा–पाथेका–खार्तम्छा–फेदी सडकका लागि ५० लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडादेखि हलेसी एफएम हुँदै कालिका भगवती सडक स्तरोन्नतिका लागि एक करोड, तापखोला सडक पुलका लागि आठ करोड ६८ लाख ४९ हजार, रुवाफेदी बुवाखोला पक्की पुलका लागि २५ करोड, ६९ लाख ६० हजार, कुभिण्डे लोचाखोला मोटरेवल पुलका लागि पाँच करोड ११ लाख ४६ हजार, बिपी स्मृति भवनका लागि एक करोड, देविस्थान एकता समाज दिक्तेलको भवन निर्माणका लागि ३० लाख, खोटाङ उद्योग वाणिज्य संघ सचिवालय भवनका लागि २५ लाखको कामका लागि बोलपत्र आह्रवान भएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ ।
मन्त्री राईले आर्थिक वर्ष २०८२÷०८३ मा खोटाङ जिल्लाका सडक, पुल, भवन तथा अन्य पूर्वाधार योजनाका लागि १ अर्ब २ करोड ५८ लाख २५ हजार रुपैयाँ विनियोजन गरेका छन् ।