खोटाङ । कोशी प्रदेशका भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्री भुपेन्द्र राईले जिल्ला अस्पतालको निर्माणधिन भवन अलपत्र पार्ने छुट कसैलाई नभएको बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा बुधबार आयोजित सरोकारवालाको बैठकमा मन्त्री राईले निर्माण व्यवसायीदेखि कार्यालयसम्मलाई निर्देशन दिदै भवन अलपत्र पार्ने छुट कसैलाई नभएको बताएका हुन् ।
अस्पताल भवन निर्माणको काममा निर्माण कम्पनीको लापरबाहीले ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रभावित भइरहेको भन्दै कोशी प्रदेशका भौतिक पूर्वाधार विकास/ स्वास्थ्य मन्त्री राईले मंसिर ७ गते भित्र श्रोत साधानसहित निर्माण व्यवसायीले शहरी तथा भवन निर्माण योजना इकाई कार्यालयमा परिमार्जित कार्यतालिका पेस गर्नुपर्ने, कार्यालयले कानुनी प्रक्रिया र निर्माण कार्यमा ताकेता र प्रक्रिया आगाडी बढाउने, आउँदो बैठक २०८२ पौष १४ गते निर्माण व्यवसायी र सरोकारवालाबीच कार्यान्वयन समीक्षा गर्नेलगायतका विषयमा निर्देशन दिएका हुन् ।
श्याम सुन्दर-रामसागर र नेपाल फूलबारी जेभीले थप भएको म्यादभित्र पनि जिल्ला अस्पताललाई ५० शैयाको सुविधासम्पन्न भवन बनाउन असफल भएपछि जिल्लाबासी चिन्तित भएका हुन् ।
२०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि पटक-पटक थपिएको म्याद पनि सकिएको छ ।
शहरी तथा भवन निर्माण आयोजना, ओखलढुङ्गामार्फत २२ करोड ९० लाख ४७ हजार रूपैयाँमा अस्पताल भवनको ठेक्का लागेको थियो ।