शुक्रवार, भाद्र २६ गते २०८३

मोटरेबल पक्की पुल समयभन्दा एक वर्षअघि नै सम्पन्न, दक्षिणी खोटाङको यातायातमा सहज

मोटरेबल पक्की पुल समयभन्दा एक वर्षअघि नै सम्पन्न, दक्षिणी खोटाङको यातायातमा सहज

रोदिक खबर

६, मंसिर २०८२
  • 1.9K
    SHARES
  • मोटरेबल पक्की पुल समयभन्दा एक वर्षअघि नै सम्पन्न, दक्षिणी खोटाङको यातायातमा सहज

    खोटाङ । बराहपोखरी गाउँपालिका–५ पौवसेरा र जन्तेढुङ्गा गाउँपालिका–१ बीचको बुवाखोलामा निर्माण गरिएको १४८.०४ मिटर लम्बाइको मोटरेबल पक्की पुल सञ्चालनमा आएको छ।

    कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोगमा बनेको मोटरेबल पक्की पुल प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शनिबार उद्घाटन गरेका हुन्।

    Screenshot_20251122_143742_Gallery(1).jpgनिर्धारित समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएको यो पुल हालसम्म कोशी प्रदेशमा बनेको सबैभन्दा लामो पक्की पुल हो।

    करिब १७ करोड ५८ लाख ६९ हजार रुपैयाँ लागतमा बनेको पुल सञ्चालनमा आएपछि खोटाङको दक्षिणी क्षेत्र र भोजपुरका हजारौँ बासिन्दा सहज र सुरक्षित रूपमा तराईसँग जोडिएका छन्।

    यो पुल २०८१ साल मंसिर ६ गते शिलान्यास भएको थियोे । स्थानीयका अनुसार पुल सञ्चालनमा आएपछि बुवाखोला तर्ने जोखिम हटेको छ ।

    उदयपुरको बेलटार हुँदै गाइघाट, धरान, इटहरी, विराटनगर लगायतका ठाँउमा पुग्ने दूरी पनि उल्लेखनीय रूपमा घटेको छ।

    जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङ्का स्थानीय हरिबहादुर बस्नेतले बंशिलाघाटमा बन्ने अर्को पक्की पुलसमेत सञ्चालनमा आएपछि दक्षिणी खोटाङको यातायात प्रणाली झनै प्रभावकारी हुने बताए।

    वर्षायामको जोखिम हटेसँगै बजार आपूर्ति, सेवा–सुविधा र दैनिक आवतजावत सहज बनेको स्थानीयको भनाइ छ।

    निर्माण व्यवसायी समयमै काम नसकाउने गुनासो बीच जयबागेश्वरी–रेग्मी–चुलिया जेभीले भने उदाहरणीय रूपमा तोकिएको अवधिभन्दा पहिल्यै काम सम्पन्न गरेको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख बिनम दाहालले बताए। उनका अनुसार दुुई वर्षको समयावधि तोकिए पनि कम्पनीले पुल २०८३ कात्तिक २१ गतेभन्दाअगावै निर्माण पूरा गरी हस्तान्तरण गरेको हो।

    नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र बिष्टका अनुसार बंशिलाघाटको बेलिब्रिजसमेत सञ्चालनमा आएपछि दैनिक उपभोग्य वस्तुको ढुवानी, कृषि उत्पादनको बजार विस्तार तथा जनजीवनमा ठूलो परिवर्तन आउनेछ।

    पुल सञ्चालनसँगै किसान, व्यापारी, विद्यार्थी र बिरामी सबैका लागि यात्रा छोटो र सुरक्षित भएको छ।

    कृषि उत्पादन छिटो तराईका बजारमा पुर्याउन सकिने, युवालाई रोजगारीका अवसर खोज्न सहजरूपमा बाहिरिन सकिने र आपतकालीन अवस्थामा धरान वा विराटनगरका अस्पताल पुग्न सहज हुने स्थानीयको विश्वास छ।

    समयमै निर्माण सम्पन्न गरिएको बुवाखोला पुल कोशी प्रदेशको पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि मानिएको छ र यसले आगामी परियोजनाहरूमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :मंसिर ६, २०८२ शनिवार - १५:००:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको