गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक भएको छ। ५ मिनेटको गीतको उक्त गीतलाई अडियो ओसियन म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ म स्वर दिएकी पेमा शेर्पा राईले दर्जनौं गीत गाएकी छन्।
ओमप्रकाश राईको संगीतमा आएको गीतको एरेञ्ज सन्तोष प्रगाड राई, इडिट वीरेन्द्र भाट विपिन र मिक्सिङ गोविन्द सोनीले गरेका छन्। उनको गीतले बिर्सनु परे पनि सम्झनाको डोरो नटुट्ने पीडायुक्त प्रेम व्यक्त गरेको छ। यसअघि उनका दुई गीत रेकर्ड भएका छन्।
२०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ र २०७९ सालमा मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ गीत रेकर्ड भएको छ। उनको ‘सञ्चो छ कि रोदन’ गीतलाई २०८१ मा नवराज पराजुलीले पनि स्वर दिएका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, सिर्जनाकुञ्ज, दोर्पा, खोटाङका राई साहित्य लेखन र पत्रकारितामा उत्तिकै सक्रिय छन्। गीतकार राई बालकथा, लघुकथा, हाइकु, मुक्तक, गजल, कविता जस्ता साहित्यका विविध विधामा कलम चलाउँछन्। उनका बालकथासंग्रह ‘पोलेको मकै’ (२०७८) र ‘टोली नेता’ (२०७४) प्रकाशित छन्।
‘लघुकथा सौन्दर्य’ मार्फत लघुकथाको विधागत उन्नयनमा लागेका गीतकार राईका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ सामुहिक लघुकथासंग्रह पनि प्रकाशित छन्।
भर्खरै उनको संयोजन तथा विमल भौकाजीको सम्पादनमा ‘बलेँसी’ सामुहिक लघुकथासंग्रह प्रकाशनमा आएको छ। रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुन्।