खोटाङ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई पछिल्लो समय खोटाङमा विकासप्रति उन्मुख, सक्रिय र परिणाममुखी नेताका रूपमा स्थापित हुँदैछन्।
जिल्लामा नयाँ–नयाँ योजना ल्याउने, निर्माणाधीन योजनाको गुणस्तरमा कडाइ गर्ने र विकास गतिविधिको निरन्तर अनुगमन गर्नेतर्फ उनको सक्रियता बढेसँगै खोटाङ्गे जनताबीच उनको लोकप्रियता तीव्र रूपमा उकासिएको स्थानीयहरु बताउँछन् ।
मन्त्री राईले पूर्वाधारका हिसाबले पछाडि रहेको खोटाङलाई व्यवस्थित र दिगो विकासको बाटोमा अघि बढाउने लक्ष्यसहित जिल्लाभर सडक, पुल, भवन, स्वास्थ्य, खानेपानी तथा आधारभूत पूर्वाधार विकासमा प्राथमिकता दिएका छन्।
सडक विस्तार तथा स्तरोन्नति, मोटरेबल पुल निर्माण र अन्य महत्वपूर्ण संरचना विकासले आवतजावत सहज भएको भन्दै धेरै नागरिकले उनको नेतृत्वको प्रशंसा गरेका छन्।
अहिले जिल्लामा निर्माणकार्य भईरहेका विभिन्न मोटरेबल पुल, भवन निर्माण, कालोपत्रे सडक, सडक विस्तार तथा पूर्वाधार सुधारका कामले प्रदेश सरकारको विकासप्रतिको प्रतिबद्धता मात्र देखाएको छैन, यी सबै योजनामा मन्त्री राईको निरन्तर पहल र अनुगमनले काम द्रुत गतिमा अघि बढ्न मद्दत गरेको स्थानीयहरू बताउँछन्।
राईको कार्यशैली छरितो, स्पष्ट र परिणाममुखी रहेको उल्लेख गर्दै सरोकारवालाहरू भन्छन्, "उनले अनुगमन, समन्वय र कार्यान्वयनमा देखाएको सक्रियताले खोटाङका विकास कार्यहरूले गति पाएको छ।"
स्थानीय जनप्रतिनिधि, नागरिक तथा सरोकारवाला निकायसँग सहकार्य र समन्वयका साथ काम गर्दै आएका मन्त्री राई खोटाङे जनताको ‘ढुकढुकी’ बन्न सफल भएको अभिव्यक्ति सार्वजनिक क्षेत्रमा बढ्दो छ।
आगामी दिनमा जनअपेक्षाअनुसारका योजनालाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता मन्त्री राईले प्रकट गरेका छन्।
यसैगरी, प्रदेशकै पूर्वाधार विकासलाई परिणाममुखी मार्गमा लैजाने उनको कार्यशैलीले खोटाङमा विकासको नयाँ आशा जगाएको देखिन्छ।