खोटाङ । २५ वर्षका युवा मिरेश राईले आसन्न निर्वाचनका लागि खोटाङबाट उम्मेद्वार बन्ने घोषणा गरेका छन् । एउटा निर्वाचन क्षेत्र रहेको खोटाङमा राष्ट्रिय परिवर्तन पार्टीले फागुन २१ गते हुने निर्वाचनका लागि युवा मिरेशलाई उम्मेद्वार बनाउने घोषणा गरेको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा घाइते भएका राजेश पटेलको अध्यक्षतामा दर्ता भएको राष्ट्रिय परिवर्तन पार्टीले शुक्रबार दिक्तेलमा एक कार्यक्रमको आयोजना गरी उम्मेद्वार घोषणा गरेको हो ।
बाँसुरी चुनाव चिन्ह लिएर राजनीतिक दलको मान्यता पाएको राष्ट्रिय परिवर्तन पार्टीले फागुन २१ गते घोषणा भएको प्रतिनिधि सभाको निर्वाचनमा खोटाङबाट २५ वर्षका युवा मिरेशलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम घर रहेका मिरेश हाल काठमाडौँमा स्नातक तह अध्ययनरत रहेका छन् ।जेनजीको आन्दोलनको मुल मर्म अरुले पुरा नगर्ने भएकाले आफै पार्टी खोलेर चुनावमा होमिएको उनीहरुको भनाइ छ ।
आन्दोलनको क्रममा सहिद भएका सहिदका परिवार र घाइतेहरुले खोलेको राष्ट्रिय परिवर्तन पार्टीलाई जेनजी युनाएटेट समर्थन गरेको उनीहरुको भनाइ छ ।
राष्ट्रिय परिवर्तन पार्टीको खोटाङमा तपसेन राईको अध्यक्षतामा २९ सदस्य युवाहरुको जिल्ला कमिटि निर्माण भएको छ ।
सोही कमिटिले युवा मिरेश राईलाई आसन्न चुनावको प्रत्यक्षतर्फको उम्मेद्वार बनाउने निर्णय गरेको अध्यक्ष तपसेनले बताए ।
राष्ट्रिय परिवर्तन पार्टीले प्रत्यक्ष राष्ट्रपति प्रणाली, शून्य भ्रष्ट्राचार लागयत ७ बुँदे एजेण्डासमेत सार्वजनिक गरेको छ ।