खाेटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ स्थित फुलवारी स्वास्थ्य आमा समूहले सुत्केरी भेटघाट कार्यक्रम गरेको छ ।
सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै पोषण, खोप, स्तनपान र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आमा समूहले शनिबार तीनजना सुत्केरीलाई एकैसाथ भेटघाट गरेको हाे ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल प्रशासन टोलका पवित्रा दाहाल (आचार्य), सपना बास्तोला (आचार्य) र सुस्मा कटुवाल (आचार्य) लाई स्वास्थ्य आमा समूहका सदस्यहरू मिलेर कोसेली सहित भेटघाट गरेको समुहकी अध्यक्ष लिलीमाया आचार्यले जानकारी दिइन् । भेटघाट गरिएका तीनै जनाले छाेराको जन्म दिएका छन् ।
आमा समूहमा आवद्ध सदस्यहरूले चामल, दाल, तेल, घ्यू, सागपात, फर्सी, गेडागुडी, अण्डा, फलफूल, नुन लगायतका पोसिलो खानेकुरा तथा बच्चालाई न्यानो कपडा सहित सुत्केरीसंग भेटघाट गरेका हुन् ।
यसले सुत्केरी आमाको स्वास्थ्य सुधारसँगै नवजात शिशुको समुचित हेरचाहमा सहयोग पुग्ने विश्वास समूहले लिएको छ । ६३ घरपरिवार समेटिएको आमा समुहले आफ्नो क्षेत्रभित्र सुत्केरी भएको ४५ दिनभित्र सुत्केरीहरुलाई भेटघाट गर्दै आएको जनाइएको छ ।
गत वर्षदेखि वडा कार्यालयले पनि समूहको अभियानलाई निरन्तरता दिन आर्थिक सहयोग गरेपछि सुत्केरी भेटघाट कार्यक्रम थप प्रभावकारी हुँदै गएको महिला स्वयमसेविका एवम् आमा समुहकी सचिव यशोदा आचार्यले बताइन् ।
पछिल्लो दुई वर्षको अवधिमा २९ जना सुत्केरीलाई भेटघाट गरेको आमा समूहले जनाएको छ ।
सोहि अवसरमा कालिका वडा स्तरीय महिला समूहकी अध्यक्ष लोकमाया थापाले स्तनपान, सरसफाई, पोषण र खोपका बारेमा सचेतना कक्षा सञ्चालन गरेकी थिइन् ।
सुत्केरी भेटघाट कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज राई, नेपाल पत्रकार महासङ्घ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, वडा सदस्य गोमा बिक, कालिका वडा स्तरीय महिला समूहकी अध्यक्ष लोकमाया थापा (गीता), नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाईं, हिमगङ्गा महिला विकास बहुउद्देश्य सहकारी संस्थाकी अध्यक्ष डिल्लीकुमारी आचार्य लगायतको उपस्थिति रहेको समुहकी सहसचिव रमिला घिमिरे (आचार्य) ले जानकारी दिईन ।