खोटाङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेलले समाजवादी लक्ष्य प्राप्तिका लागि वामपन्थी राजनीतिक दलहरुबीच पार्टी एकता गरिएको बताएका छन् । नेकपा खोटाङले मङ्गलबार दिक्तेल बजारमा आयोजना गरेको ‘एकला सन्देश सम्प्रेषण कार्यक्रम’लाई सम्बोधन गर्दै नेता गजुरेलले अबको कार्यभार समाजवादी क्रान्ति भएकाले त्यसलाई पूरा गर्न नेपालका वामपन्थी राजनीतिक दलहरुबीच पार्टी एकता गरिएको दाबी गरे ।
नेता गजुरेलले जेनजी आन्दोलनको उद्देश्य पनि यही रहेको उल्लेख गर्दै “नेपाली जनताले परिवर्तन चाहेका छन् । त्यो पूरा गर्न सबै कम्युनिष्ट विचारधारा राजनीतिक दलहरु एक जुट हुन आवश्यक छ”, उनले भने, “हामीले जेनजीको भावना अनुरुप १९ वटा कम्युनिष्ट पार्टीहरुबीच एकता गरेका छौँ ।
अब यो सन्देश जनस्तरसम्म पु¥याउनुपर्छ । यो समयको माग हो ।” नेता गजुरेलले पार्टी एकतापछि नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा बढेको बताउर्दै “अबको निर्वाचनमा नयाँ अनुहारलाई प्राथमिकता दिनुपर्छ भन्ने पार्टीभित्र पनि छलफल सुरु भएको छ । जेनजीको चाहना पनि यही हो”, उनले भने “वर्तमान सरकारले निर्वाचन घोषणा गरेको छ ।
यो निर्वाचनमा धेरैभन्दा धेरै नयाँ अनुहारलाई मौका दिने योजना बनाएका छौँ ।” नेता गजुरेलले वर्तमान अवस्थामा देशलाई निकास दिन निर्वाचन बाहेक अरु हुनै नसक्ने दाबी गरे । “केही राजनीतिक दलहरु प्रतिनिधिसभा पुनःस्थपना भनेर लागेका छन् ।
यसमा दुई/दुई पटक संसद् विकटन गर्ने एमाले देखिन्छ । यो निकास होइन । यसो हुँदा देश अनिर्णयको बन्दी बन्छ”, भने, “अब जेनजीको भावना अनुसार नयाँ अनुहारहरु राज्यको मूल प्रवाहमा आउनुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण छ । बिगतमा भएका कमीकमजोरीहरु सच्याउँदै अगाडि बढ्छौँ ।”
दिक्तेलस्थित समिक्षालय हलमा आयोजित ‘एकला सन्देश सम्प्रेषण कार्यक्रम’ नेकपाका नेता एवम् कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’, पूर्वमन्त्री राजन राई, संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता‘, नेपाली कम्यूनिष्ट पार्टीका नेताहरु सनबहादुर राई,पूर्वसांसद् कुलप्रसाद फुयाँल, केन्द्रीय सदस्य ध्रुब बुढाथोकी ‘धिरेन’ लगायतले सम्बोधन गरेका थिए।
कार्यक्रममा बोल्ने नेताहरुले देशको आवश्यकता अनुसार पार्टी एकता भएकाले तल्लो तहसम्म उत्साह थपिएको जानकारी दिएका छन् । जिल्लास्थित दशवटै स्थानीय तहका नेता तथा कार्यकर्ताहरु पार्टी एकता सन्देश सम्प्रेषण कार्यक्रममा उत्साहका साथ सहभागी भएका थिए ।
कार्यक्रममा सहभागी हुनुपूर्व दिक्तेल जबारस्थित भवनगैरामा सञ्चालित तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टीको कार्यालयसमेत स्थापना गरिएको छ ।