खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, यम्खाका कृषक गोविन्द गुरागाईले पालेको भैँसीले एकै पटक दुई वटा पाडा जन्माएको छ ।
गुरागाईका अनुसार भैँसीले भदौ ३ गते पूर्ण रूपमा स्वस्थ अवस्थामा दुई वटा पाडा जन्माएको हो ।
सामान्यतया भैँसीले एउटै पाडा मात्र जन्माउने भएकाले एकै पटक दुई वटा पाडापाडी जन्मिनुलाई दुर्लभ घटनाका रूपमा लिइएको छ । यस घटनापछि स्थानीय क्षेत्रमा उत्सुकता र चासो बढेको छ ।
हाल दुवै पाडा सकुशल रहेका छन् भने आमाभैँसीसमेत स्वस्थ अवस्थामा रहेको गुरागाईले जानकारी दिएका छन् ।
गुरागाईका अनुसार उक्त भैँसीले पाँचौँ बेतमा दुई वटा पाडापाडी जन्माएको हो । उनले राम्रो स्याहार–सुसार, सन्तुलित आहार र नियमित हेरचाहका कारण यस्तो सम्भव भएको हुनसक्ने बताए ।
यस घटनाले आफूलाई पशुपालन व्यवसायप्रति थप हौसला मिलेको पनि उनको भनाइ छ । स्थानीयवासीहरूले यसलाई शुभ संकेतका रूपमा लिँदै कृषक गुरागाईलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।