खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बुइपा–११ स्पोट्र्स क्लब बुइपा, खोटाङको आयोजना तथा बुइपाका स्थानीय समाजसेवी प्रभुराम राई परिवारको प्रायोजनमा माघ ७ गतेदेखि ११ गतेसम्म ‘प्रभुराम राई कप–२०८२’ आयोजना गर्न लागिएको हो ।
बुइपास्थित यलम्बर रंगशालामा सञ्चालन हुने प्रतियोगितामा जिल्लाभित्रका ६ तथा बाहिरी जिल्लाका ४ गरी १० वटा फुटबल क्लब सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले नगद तीन लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेतालाई एक लाख ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
सेमिफाइनलमा पुग्ने दुई टिमलाई जनही ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ घोषणा गरिने र प्रतियोगिता अवधिभरको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बुइपा–११ स्पोट्र्स क्लबका पूर्वसचिव ओमप्रकाश घिमिरेले जानकारी दिए ।
विद्यागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उदयीमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । वि.सं. २०६२ सालमा स्थापना भएको बुइपा–११ स्पोट्र्स क्लबका अध्यक्षसमेत रहेका प्रभुराम राईको सम्मानमा उनकै परिवारका सदस्यहरूले प्रतियोगिता आयोजना गर्न लागेको हुन् ।
तत्कालीन बुइपा गाउँ पञ्चायतका निर्वाचित प्रधानपञ्च तथा पूर्व ब्रिटिश गोर्खा सैनिकसमेत रहेका प्रभुराम राईले खेल क्षेत्रको विकासमा पु¥याएको योगदानको कदरस्वरूप प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । प्रतियोगितामा जिल्ला फुटबल संघ खोटाङ संरक्षकका रूपमा रहनेछ ।
८२ वर्षीय प्रभुराम राईको खेल क्षेत्रप्रतिको योगदानलाई सम्मान गर्दै जिल्लाबाट राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलो पटक यति ठूलो स्तरको आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको उनका जेठा छोरा दिनेश राईले बताए ।
“बुबाले खेलकुद विकासका लागि जीवनभर योगदान दिनुभयो,” उनले भने, “उहाँको सम्मानमा आयोजना गरिएको यो प्रतियोगिताको सम्पूर्ण आर्थिक व्यवस्थापन परिवारकै पहलमा गरिएको हो । प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख ३ हजार खर्च हुने अनुमान गरिएको छ ।”
जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईका अनुसार, खेलाडी उत्पादन र खेलमैदान निर्माणमा प्रभुराम राईले गरेको योगदान खेलकुद क्षेत्रका लागि प्रेरणादायी रहेको छ । “पाको उमेरमा पनि खेल क्षेत्रको विकासमा सक्रिय रहनु उहाँको विशेषता हो,” अध्यक्ष राईल भने, “उहाँको सम्मानमा आयोजना गरिएको यो प्रतियोगिता जिल्लाकै साझा प्रतियोगिता हो ।”
बुइपा–११ स्पोट्र्स क्लब स्थापना भएदेखि हालसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका प्रभुराम राईले बुइपाको राजावासमा आफ्नै पहलमा खेलमैदान निर्माण गरेका छन् । उनको नेतृत्वमा क्लबमा आबद्ध खेलाडीहरू जिल्ला विजेता हुँदै गत वर्ष कोशी प्रदेश फुटबल संघले सुनसरीको धरानमा आयोजना गरेको प्रदेश लिग फुटबल प्रतियोगिता–२०८१ मा उपविजेता बन्न सफल भएका थिए ।