शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङका थप दुई ठाउँमा बेलिब्रिज जडान हुने

खोटाङका थप दुई ठाउँमा बेलिब्रिज जडान हुने

रोदिक खबर

२१, पौष २०८२
  • 2.4K
    SHARES
  • खोटाङका थप दुई ठाउँमा बेलिब्रिज जडान हुने

    खोटाङ । खोटाङका थप दुई ठाउँमा बेलिब्रिज जडान हुने भएको छ । खोटाङ र उदयपुर जोड्ने हलेसी तुवाचुङ नगरपालिका -५ दुर्छिम बतासेघाट र लिम्चुङबुङ गाउँपालिका-१ बास्बोटेस्थित सुनकोशीमा बेलिब्रिज जडान हुन लागेको हो ।

    यस्तै, खोटाङको बराहपोखरी गाउँपालिका-१ भोर्मा-अजिङ्गरे–फेदिटार र खोटेहाङ गाउँपालिका-९ लिच्किराम्चे जोड्ने सावा खोलामा पनि बेलिब्रिज जडान हुने भएको कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।

    सवारी साधन वारपारका लागि अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका उक्त दुई ठाउँ र इलामको फेवाखोला माङ्सेबुङ १ र २ जोड्ने गरी तीन वडा बेलिब्रिज जडानको ठेक्का सोमबार खुलेको छ ।

    ठेक्का प्रक्रियामार्फत चाडै बेलिब्रिज जडान हुने कोशी प्रदेश भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बताए ।

    दुर्छिम बतासेघाट र बास्बोटेको सिमानामा रहेको सुनकोशीमा बेलिब्रिज जडान पश्चात हलेसीको पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताइन ।

    खोटाङतर्फ कोशी किनारमा बसोबास गर्ने नागरिकलाई तराई आवतजातमा सहजतासँगै सामान ढुवानीमा पनि ठुलो राहत मिल्ने छ ।

    यस्तै, हिउँदको समयमा उदयपुर एवं तराइका जिल्लाबाट हलेसी आवतजावतमा उक्त बेलिब्रिजले दुरी छोट्याउने छ । मन्त्री राईसहितको टोलीले बेलिब्रिज जडान हुने स्थानमा आइतबार अनुगमनसमेत गरेको छ ।

    यस्तै, बराहपोखरी गाउँपालिका-१ र खोटेहाङ गाउँपालिका-९ लिच्किराम्चे जोड्ने सावा खोलामा हिउँदको समयमा पनि पानीको बहाव ठुलो हुने भएकाले सवारी साधन वारपार गर्न कठिन हुँदै आएको थियो ।

    उक्त स्थानमा पनि बेलिब्रिज जडान हुने भएपछि यात्रु तथा स्थानीय नागरिकलाई ठुलो राहत मिल्ने छ । हाल खोटाङ र उदुयपुर जोड्ने अन्य दुई ठाउँमा पनि बेलिब्रिज जडानको काम धमाधमहुँदै छ ।

    फेक्सिनङटारको बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । बंशिलाघाटमा पनि धमाधम काम भइरहेको मन्त्री राईले बताए ।

    प्रकाशित मिति :पौष २१, २०८२ सोमवार - १९:३२:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको