हलेसी तुवाचुङ नगरपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

हलेसी तुवाचुङ नगरपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

रोदिक खबर

२६, पौष २०८२
  • 3.4K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

    खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । खेल क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरुको लागि महत्वपूर्ण मानिएको माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २६ गते शनिबारबाट सुरु भएको हो ।

    हलेसी तुवाचुङ नगरपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापनमा नगरपालिकाको १० नम्बर वडा अर्खौले बिजुलेस्थित साल्पा खेल मैदानमा सुरु भएको प्रतियोगिता पुस २८ गतेसम्म सञ्चालन हुने व्यवस्थापकीय विद्यालयका प्रधानाध्यापक नविन चाम्लिङले बताए ।

    ३० स्वर्ण, ३० कास्य र ३० रजत पदकको लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा पालिका भरीका १२ सामुदायिक र एक संस्थागत गरी १३ विद्यालयले सहभागि जनाएको नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख सुरेश निरौलाले बताए ।

    भलिबल, कबड्डि र एथलेटिक्सका १५ इभिण्डमा विद्यालय र विद्यार्थी बीच प्रतिस्पर्धा हुने उनको भनाइ छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्डका साथमा मेडल र प्रमाणपत्र पाउने छ ।

    लगातार तीन पटकको विजेता बन्दै मंगलटारस्थित पिपलडाँडा माविले रनिङ शिल्ड आफ्नो बनाएको छ । यो वर्ष नयाँ रनिङ शिल्ड ल्याइएको नगरपालिकाले जनाएको छ ।

    यस्तै, प्रतियोगिताको दोश्रो र तेश्रो हुने विद्यालयले कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक विद्यामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यार्थी खेलाडीले ट्रफी प्राप्त गर्ने छन् । पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई नगद पुरस्कार पनि प्रदान गर्ने तयारी भइरहेको शाखा प्रमुख निरौलाले बताए ।

    सहभागि सबै विद्यालयले यातायात, खाना र बासको लागि दुरीको हिसाबले खर्च पाउने नगरपालिकाले व्यवस्था गरेको छ ।

    नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन १५ लाख बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

    प्रतियोगिताको उद्घाटन गर्दै मेयर विमला राईले लगातार तीन पटक जितेर पिपलडाँडा माविले शिल्ड आफ्नो बनाए जस्तै सबै विद्यालय र विद्यार्थीलाई जितको शुभकामना दिएकी छन् ।

    प्रकाशित मिति :पौष २६, २०८२ शनिवार - १९:०७:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको