खोटाङ । खोटाङको दिक्तेलबजारमा भई रहेकोे बजार ढलानको काम सम्पन्न भएको छ । सडक ढलानको काम सम्पन्न भएसँगै दिक्तेलबजार अव हिलोरहित बनेको छ भने बजारको स्वरूपसमेत परिवर्तन भएको छ।
दिक्तेलबजारमा लामो समयदेखि स्थानीयवासीलाई सास्ती दिँदै आएको हिलो र धुलोको समस्या अन्ततः समाधान भएको छ। वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण दिक्तेलबजारमा पैदलयात्री, सवारी चालक र व्यवसायीहरूलाई आवतजावत गर्न अत्यन्तै कठिन हुने गरेको थियो।
समस्याको चरम अवस्थालाई उजागर गर्दै कुनै समय स्थानीयवासीहरूले विरोधस्वरूप सडकमा रोपाइँसमेत गरेका थिए, जसले बजारको दयनीय अवस्थालाई राष्ट्रिय चर्चामा ल्याएको थियो।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आवश्यक बजेट विनियोजन भएपछि सडक ढलानको काम सम्पन्न भएको हो।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकास निवर्तमान मन्त्री भुपेन्द्र राईको पहलमा बजेट सुनिश्चित भएपछि दिक्तेलबजार ढलान योजनाले मूर्तरूप पाएको स्थानीयवासीको भनाइ छ।
ढलान सम्पन्न भएसँगै सर्वसाधारण, व्यवसायी तथा सवारी चालकलाई ठूलो राहत मिलेको छ। स्थानीयवासीहरूले दिक्तेलबजारको ढलान सम्पन्न हुनु दीर्घकालीन शहरी विकासतर्फको महत्वपूर्ण उपलब्धि भएको भन्दै खुशी व्यक्त गरेका छन्।