खोटाङ, ८ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले निर्वाचन व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि विभिन्न समिति गठन गरेको छ ।
पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. हरि रोकाले उम्मेदवारी दर्ता गराएसँगै निर्वाचन गतिविधिलाई व्यवस्थित बनाउन समितिहरू गठन गरिएको हो ।
पार्टीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा एक हजार १२५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको नेकपा खोटाङले जनाएको छ ।
उक्त समितिमा खोटाङबाट निर्वाचित पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्य, पार्टीका केन्द्रीय तथा प्रदेश समितिका सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारी, स्थानीय तहका पदाधिकारी तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको छ ।
यसैगरी, अध्यक्ष राईकै संयोजकत्वमा ११ सदस्यीय आर्थिक सङ्कलन तथा व्यवस्थापन समिति गठन गरिएको छ । सो समितिमा पूर्वमन्त्री, पूर्वसांसद, पालिका प्रमुख तथा उपप्रमुख, साथै विभिन्न पेशागत सङ्गठनका प्रतिनिधिहरू समावेश गरिएको पार्टीले जनाएको छ ।
पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य राजन राईको संयोजकत्वमा १५ सदस्यीय प्रचार–प्रसार तथा घोषणापत्र निर्माण समिति गठन गरिएको छ । साथै, उम्मेदवारसँग परिचालित हुने नेताहरूको टोलीसमेत निर्धारण गरिएको जनाइएको छ ।
निर्वाचन क्षेत्रस्तरीय कार्यक्रमको संयोजन तथा व्यवस्थापनका लागि निर्वाचन क्षेत्र नं. १ (क) मा दुर्गाजयन्ती राई र निर्वाचन क्षेत्र नं. १ (ख) मा समिता कार्की ‘अस्मिता’लाई जिम्मेवारी तोकिएको छ ।
यस्तै, निर्वाचन कार्यालय व्यवस्थापनका लागि जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’को संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ ।
यस्तै, मतदाता सर्वेक्षण, निर्वाचन एजेन्डा निर्धारण, सांस्कृतिक कार्यक्रम, स्वयंसेवक परिचालन, कानूनी शिक्षा तथा अनुगमन, तथा राष्ट्रियस्तरका प्रभावशाली व्यक्तिहरूसँग समन्वय गर्न छुट्टाछुट्टै समिति गठन गरिएको पार्टीले जानकारी दिएको छ ।
नेकपा खोटाङका अनुसार यही माघ १५ गतेभित्र सबै पालिकास्तर र माघ २० गतेभित्र वडास्तरमा निर्वाचन परिचालन समिति गठन गरिनेछ ।
साथै, फागुन ५ गतेदेखि बराहपोखरी गाउँपालिकाबाट सुरु हुने चुनावीसभा फागुन १८ गते दिक्तेलमा समापन गर्ने कार्यक्रम तय गरिएको जनाईएको छ ।