शुक्रवार, भाद्र २६ गते २०८३

प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२ को उपाधि नेर्पा स्पोर्टस् क्लबले जित्यो

प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२ को उपाधि नेर्पा स्पोर्टस् क्लबले जित्यो

रोदिक खबर

१२, माघ २०८२
  • 1.8K
    SHARES
  • प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२ को उपाधि नेर्पा स्पोर्टस् क्लबले जित्यो

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सम्पन्न जिल्लाकै सर्वाधिक राशिको ‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ ।

    बुइपास्थित यलम्बर खेलमैदानमा आइतबार साँझ सम्पन्न फाइनल खेलमा गछिया युवा समाज मोरङलाई ट्राईब्रेकरमा पाँच–चारको गोलअन्तरले पराजित गर्दै नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङले प्रथम उपाधि जितेको हो ।

    बुइपाका स्थायी बासिबन्दा ८२ वर्षीय वृद्ध प्रभुराम राईको सम्मानमा उहाँको परिवारका सदस्यको प्रायोजन तथा बुइपा–११ स्पोर्टस क्लब बुइपाको आयोजनामा भएको प्रतियोगिताको उपाधि विजेता नेर्पाले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    जिल्लाभित्रका छ तथा बाहिरी जिल्लाका चारवटा फुटबल क्लबगरी दश टोलीको सहभागिता रहेको प्रतियोगिताका उपविजेता गछिया युवा समाज मोरङले नगद एक लाख ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    फाइनल खेलको निर्धारित समयमा दुवै टोलीको एक/एक गोल भएको थियो । निर्धारित समयमा बराबरी गोल भएपछि समय अभावका कारण सिधै ट्राईब्रेकरमार्फत छिनोफानो गरिएको प्रतियोगितामा नेर्पा स्पोर्टस् क्लब नेर्पाले पाँच–चारको गोलअन्तरले गछिया युवा समाज मोरङलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

    प्रतियोगिताका सेमिफाईनलिष्ट दुई समूह खारम्बु स्पोर्टस् क्लब खार्मी र आयोजक बुइपा–११ स्पोर्टस् क्बल बुइपाले नगद ५०/५० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    हरेक खेलमा म्यान अफ दि म्याच घोषणा गरिएको प्रथम आमन्त्रित फुटबल प्रतियोगिता अवधिभरका सर्वोउत्कृष्ट खेलाडीमा नेर्पा स्पोर्टस् क्लबका सलिन ढकाल ‘राम’लाई नगद ३० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका सचिव रोशन चाम्लिङले जानकारी दिए।

    प्रतियोगिताका विद्यागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता समान पाँच/पाँच गोल गर्ने नेर्पा स्पोर्टस क्लबका बिकी चाम्लिङ र गछिया युवा समाजका मिक्चेन दास, उत्कृष्ट गोलरक्षक नेर्पाका रोहन परियार, उत्कृष्ट डिफेन्डरमा बुइपाका रामसुर राई, उत्कृष्ट मिडफिल्डरमा गछियाका योना लिम्बु, उदयीमान खेलाडीमा बुइपाका एलन राई, उत्कृष्ट फरवार्डमा गछियाका रोहन गुरुङ र उत्कृष्ट प्रशिक्षकमा नेर्पाका डिगेन्द्र गुरुङलाई समेत नगदसहित पुरस्कृत गरिएको छ ।

    प्रतियोगिताका विद्यागत पुरस्कारको राशि जनही नगद १५/१५ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

    प्रतियोगिताका विजयी क्लब तथा खेलाडीलाई प्रायोजक प्रभुराम राई र उनकी श्रीमती सीता राईले नगदसहित पुरस्कार वितरण गरेका थिए । यही माघ–७ गतेबाट सुरु भएको आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव किरण राईले गरेका थिए ।

    सामाजिक सेवासँगै खेल क्षेत्रको समग्र विकासमा लाग्नुभएका बुबा प्रभुराम राईलाई सम्मान गर्दै जिल्लामा राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादन गर्ने उद्धेश्यले पहिलो पटक आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको जेठा छोरा दिनेश राईले बताए ।

    तत्कालीन बुइपा गाउँ पञ्चायतका प्रधानपञ्च तथा पूर्व बृटिस गोर्खा सैनिक (बेलायती सेना)समेत रहेका प्रभुरामको योगदानलाई कदर गर्दै उनको सम्मानमा परिवारका सदस्यहरुले आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

    फुटबल खेलको विकास गर्दै जिल्लाबाट राष्ट्रियस्तरका व्यवसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले बुइपा–११ स्पोर्टस् क्लब स्थापना गरेदेखि अहिलेसम्म क्लबको अध्यक्ष रहेका प्रभुरामले बुइपाको राजावासमा क्लबको आफ्नै खेलमैदान निर्माण गरेका छन् ।

    प्रभुरामले नेतृत्व गरेकाे बुइपा–११ स्पोर्टस् क्लबमा आवद्ध खेलाडीहरु जिल्ला विजेता हुँदै गत वर्ष कोशी प्रदेश फुटबल सङ्घले सुनसरीको धरानमा आयोजना गरेको प्रदेश लिग फुटबल प्रतियोगिता–२०८१ मा उपविजेता बनेको थियो ।

    प्रकाशित मिति :माघ १२, २०८२ सोमवार - ०६:५८:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको