खोटाङ। शीतला माध्यमिक विद्यालयले आफ्नो ६४औँ वार्षिकोत्सव तथा २०औँ अभिभावक दिवस आज (आइतबार) देखि सुरू गरेको छ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले विविध प्रतियोगिता तथा औपचारिक कार्यक्रमहरू आयोजना गर्दै शैक्षिक, सामाजिक र सांस्कृतिक गतिविधिलाई समेटेर कार्यक्रम शुरू गरेको हो। पहिलो दिन अभिभावक तथा शिक्षक लक्षित प्रतिस्पर्धात्मक कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
पुरुषतर्फ डोरी तान्ने र हन्डीफोर प्रतियोगिता, अन्तर प्रा.वि. शिक्षक/शिक्षिकाबीच पानी भर्ने प्रतियोगिता, महिलातर्फ म्युजिकल चेयर तथा अन्तर प्रा.वि. मेमोरी गेम आयोजना गरिएको विद्यालयले जनाएको छ।
यसै अवसरमा विद्यालयका प्रधानाध्यापक मीनकुमार दाहालले वार्षिक प्रगति प्रतिवेदन तथा लेखापाल प्रमोद भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको समग्र शैक्षिक उपलब्धि, चुनौती र आगामी योजनाबारे जानकारी गराएका थिए।
यस्तै, विद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा दाताहरूलाई पुरस्कृत तथा सम्मान गरिएको थियो।
त्यसैगरी, फागुन ५ गते विद्यार्थी लक्षित खेलकुद कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। कक्षा ६ देखि १० सम्मका छात्रका लागि ४०० मिटर दौड तथा छात्राका लागि २०० मिटर दौड, कक्षा ६ देखि ८ सम्मका छात्रका लागि हाईजम्प र छात्राका लागि सटफुट प्रतियोगिता आयोजना गरिने प्रधानाध्यापक दाहालले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रकुमार बस्नेतको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा विभिन्न सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।
विद्यालयले ६४ वर्षको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि, अभिभावक–विद्यालय सहकार्य सुदृढीकरण तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर वार्षिकोत्सव मनाइरहेको जनाएको छ।