खोटाङ। शीतला माध्यमिक विद्यालय ले आफ्नो ६४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालय र समाजमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरेको छ।
विद्यालयलाई सहयोग पुर्याउने दर्जनभन्दा बढी व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमध्ये सोही विद्यालयबाट अध्ययन गरी उच्च ओहोदामा पुग्न सफल न्यायाधीश नवराज दाहाल र पूर्व न्यायाधीश पर्शु भट्टराईलाई सम्मान गरिएको छ।
उनीहरूको उपलब्धिलाई विद्यालयले आफ्नो गौरवका रूपमा लिँदै सम्मान प्रकट गरेको जनाएको छ। यसैगरी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू नवराज केसी, कटकबहादुर खत्री र रामचन्द्र केसीलाई अभिभावक तर्फबाट सम्मान गरिएको छ।
उत्कृष्ट शिक्षकका रूपमा पुष्पराज खत्री र मदनसेन राईलाई सम्मान गरिएको विद्यालयले जनाएको छ। विद्यालयका कार्यालय सहयोगी नारायण भुजेललाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ।
विद्यालय स्थापना भएदेखि हालसम्मको एसएलसी परीक्षामा सर्वाधिक उत्कृष्ट अंक ल्याउने सन्तोष खतिवडालाई पनि सम्मान गरिएको छ।
त्यसैगरी, साहित्य, गजल, वक्तृत्वकला, दौड, नृत्य लगायत विभिन्न विधामार्फत विद्यालयमा योगदान पुर्याउने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको छ।
गजल विधामा विजय खड्का, वक्तृत्वकलामा प्रनिसा राई, दौडमा दिपेश सुचिकार तथा टेकबहादुर खत्री लगायतका विद्यार्थी सम्मानित भएका छन्।
सम्मानित व्यक्तित्वहरूलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रकुमार बस्नेत लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।
विद्यालयका प्रधानाध्यापक मीनकुमार दाहालका अनुसार विद्यालयले ६४ वर्षको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि, अभिभावक–विद्यालय सहकार्य सुदृढीकरण तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर वार्षिकोत्सव मनाइएको हो।