खोटाङ। नेपाली कांग्रेस खोटाङका उम्मेदवार बीरकाजी राईले आफूलाई निर्वाचित गराएर पठाए जिल्लाको शिर उच्च हुनेगरी परिणाममुखी काम गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
खोटाङको राखाबाङ्देलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राईले जिल्लाको समग्र विकासलाई केन्द्रमा राखेर योजनाबद्ध र प्रभावकारी ढंगले अघि बढ्ने स्पष्ट पारे।
उनले रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तरीय सुधार तथा आधारभूत पूर्वाधार विस्तारलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने बताए।
जिल्लाबाट बढ्दो बसाइँसराइ तथा युवा पलायन रोक्न स्थानीय स्तरमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न विशेष पहल गर्ने प्रतिवद्धता जनाए।
विकास निर्माणका योजनामा पारदर्शिता, जनसहभागिता र प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिने उल्लेख गर्दै त्यसका लागि नेपाली कांग्रेस नै भरपर्दो विकल्प भएको जिकिर गरे। चुनावी सभामा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले जिल्लाको दीर्घकालीन विकास र सुशासनका लागि सक्षम तथा प्रतिबद्ध नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।