बिहिवार, कार्तिक १३ गते २०८३

निर्वाचन प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

निर्वाचन प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

रोदिक खबर

१३, फाल्गुण २०८२
  • 1.5K
    SHARES
  • निर्वाचन प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

    खोटाङ : फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा अवरोध गरेको पाइएमा दुई लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ।

    सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले बाधा–अवरोध पु¥याउने, पु¥याउन लगाउने, थुनछेक गर्ने वा गराउने कार्य गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ।

    कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य दल, उम्मेदवार, दलका कार्यकर्ता वा आम नागरिकले विभिन्न तरिकाले अवरोध सिर्जना गरेको गुनासो तथा उजुरी प्राप्त भएको आयोगले उल्लेख गरेको छ।

    साथै, विभिन्न सञ्चारमाध्यमबाट पनि यस्ता घटनाबारे जानकारी प्राप्त भएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    राजनीतिक दल, उम्मेदवार वा दलका भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणसम्बन्धी निर्वाचन आचारसंहिता जारी भइसकेको छ।

    सो आचारसंहितामा कुनै राजनीतिक दल, उम्मेदवार वा दलका भ्रातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा–अवरोध पुर्‍याउन नहुने व्यवस्था छ।

    निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवारी दिन, निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुनबमोजिम प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले बाधा–अवरोध गर्न नपाइने प्रावधान छ।

    आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवाला सबैको भएको आयोगले जनाएको छ।

    निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुनबमोजिम प्रचारप्रसार गर्नबाट बञ्चित गर्ने उद्देश्यले बाधा–अवरोध नगर्न र नगराउन आयोगले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ।

    प्रकाशित मिति :फाल्गुण १३, २०८२ बुधवार - ०६:४९:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको