खोटाङ। नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री भुपेन्द्र राईले कांग्रेस जनताका यथार्थ समस्या, आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर मत माग्न मैदानमा आएको बताएका छन्।
शुक्रबार खोटाङको खार्तम्छामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री राईले कांग्रेसले केवल नाराभन्दा पनि समाधानसहित जनतामाझ जाने स्पष्ट नीति लिएको बताए। उनले भने, “हामी जनताका वास्तविक समस्या बुझेर समाधानसहित मत माग्न आएका छौँ। कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन।”
उनले कार्यकर्ता र शुभेच्छुकहरूलाई घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्न आग्रह गर्दै रूख चिन्हमा मतदान गरी कांग्रेसलाई विजयी गराउन अपिल गरे।
महामन्त्री राईका अनुसार मुलुकलाई स्थिरता, सहकार्य र समावेशी विकासतर्फ डोर्याउन कांग्रेस नै सक्षम, जिम्मेवार र भरोसायोग्य शक्ति हो।
“यस क्षेत्रका उम्मेदवारहरूले आ–आफ्नो क्षेत्रमा दिनरात मेहनत गर्नुभएको छ,” उनले भने, “पाँच वर्षका लागि रूख चिन्हमा मतदान गर्नुहोस्, देश निर्माणको जिम्मा हामी लिन्छौँ।”
निर्वाचनको मिति नजिकिँदै जाँदा संगठनात्मक एकता, सक्रियता र जनसम्पर्क अभियानलाई तीव्र बनाउनुपर्ने आवश्यकता औंल्याउँदै महामन्त्री राईले कांग्रेसलाई विजयी गराउन सम्पूर्ण नेता–कार्यकर्ता तथा समर्थकहरू एकजुट भएर लाग्न आह्वान गरे।