खोटाङ। नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार वीरकाजी राईले जिल्लाको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार खार्तम्छामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार राईले आफूलाई निर्वाचित गराए खोटाङको विकास निर्माणलाई योजनाबद्ध, पारदर्शी र परिणाममुखी ढंगले अघि बढाउने बताएका हुन्।
“म व्यक्तिगत स्वार्थका लागि होइन, खोटाङ्गे जनताको सपना साकार पार्न उम्मेदवार बनेको हुँ,” उनले भने, “जिल्लाको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दृढतापूर्वक लाग्नेछु।”
उनले नेपाली कांग्रेस सशक्त भए मात्र लोकतन्त्र सुदृढ हुने जिकिर गर्दै कांग्रेस कमजोर भए देश नै कमजोर हुने दाबी गरे। साथै कार्यकर्ता र समर्थकलाई घरदैलो अभियानलाई तीव्र पार्न आग्रह गर्दै रूख चिन्हमा मतदान गरी कांग्रेसलाई विजयी गराउन अपिल गरे।
“खोटाङ्गे नागरिकको शिर उच्च हुने गरी काम गर्नेछु,” उनले प्रतिबद्धता दोहोर्याउँदै भने, “जनताको विश्वास र मतको सम्मान गर्दै विकास र समृद्धिको नयाँ आधार तयार पार्ने मेरो लक्ष्य हो।”
सभामा सहभागी नेता तथा कार्यकर्ताहरूले पनि कांग्रेसका उम्मेदवारलाई विजयी गराउन एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए।