काठमाडौं: फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिएर आउने फागु पर्व मनाउने परम्परा प्राचीनकालदेखि चलिआएको छ ।
केही वर्षअघिसम्म उपत्यकामा उच्छृंखल रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्दै गएको छ ।
यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसहरूले वातावरणलाई रङ्गीचङ्गी बनाउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगेर जलाउँछन् ।
उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारमा काम लाग्ने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भन्ने मान्यतासहित चिरको खरानीको टीका लगाइन्छ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासहित सजाएर गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ ।
आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कतै पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन रहेको छ ।
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले नजल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादसँगै दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका स्वयं भष्म भएकी थिइन् भने भक्त प्रह्लादलाई आगोले केही गर्न सकेन भन्ने कथा यो पर्वसँग जोडिएको छ ।
त्यसैबेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन खोज्दा असफल भई मारिएकी थिइन् ।
उनलाई व्रजवासीहरूले जलाएर फागु महोत्सव मनाउने परम्परा चलेको धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. तोयराज नेपालले जानकारी दिएका छन् ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाका रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने विश्वास गरिन्छ ।
बालिएको चिरको धुवाँबाट शीतकालका विभिन्न रोगका कीटाणु नष्ट हुने भएकाले यस पर्वको आयुर्वेदिक महत्व पनि रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद प्रवर्द्धन शाखाका प्रमुख डा. वंशदीप शर्मा खरेल बताउँछन् ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाइन्छ । यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदैछ ।
तराईका जिल्लामा मङ्गलबार नै सरकारले सार्वजनिक बिदा दिएको छ । यस पर्वका अवसरमा रमाइलोका नाममा नशालु पदार्थ सेवन गरी झैझगडा गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा लोला हिर्काउने जस्ता विकृति पछिल्लो समय घट्दै गएका छन् ।
यो चाडमा थकाली समुदायका मानिसहरू रङ्गीबिरङ्गी पोसाकमा सजिएर सपरिवार भेला भई तीर हान्ने प्रतियोगिता गर्छन् ।
सात दिनसम्म चल्ने यस पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदारहरू भेला भई मीठा–मीठा परिकार खाएर रमाइलो गरिन्छ ।
रङको पर्व कुन देशमा कसरी मनाइन्छ ? फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि फरक–फरक शैलीमा मनाइन्छ ।
इटालीमा ‘बेलियाकोनोन्स’ नामले मनाइने यस पर्वमा एकआपसमा सुगन्धित जल छर्केर घाँसबाट बनेका रङ्गीचङ्गी आभूषण लगाई खेल्ने गरिन्छ ।
चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस अवसरमा नयाँ लुगा र गहना लगाइन्छ ।
अमेरिकामा ‘होबो’ नामले मनाइने यस पर्वमा मानिसहरूले हास्यात्मक वेशभूषा लगाएर विभिन्न प्रतियोगिता आयोजना गर्छन् र विजयीलाई पुरस्कार प्रदान गरिन्छ ।
यसैगरी श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मार र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानसहित स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।
फरक–फरक नाममा मनाइए पनि रङ खेल्ने परम्परा धेरै देशमा रहेको पाइन्छ । सबैतिर आपसी सद्भाव तथा सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिन्छ ।