खोटाङ। प्रतिनिधि सभा सदस्य आरेन राईले जातजाति, पार्टी र व्यक्तिभन्दा माथि उठेर निष्पक्ष ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासङ्घ खोटाङले शुक्रबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै सांसद राईले आफू खोटाङको समग्र विकास र जिल्लालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गर्ने बताएका हुन्।
उनले खोटाङलाई आर्थिक तथा सामाजिक रूपमा आत्मनिर्भर बनाउने दिशामा आफूले विशेष पहल गर्ने उल्लेख गरे।
“खोटाङलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विषयमा म गम्भीरतापूर्वक लाग्नेछु,” सांसद राईले भने- जिल्लाको अवस्था सुधार्न इमानदारी, पारदर्शिता र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने बताए ।
अहिले देश विभिन्न प्रभाव र स्वार्थको दबाबमा चलिरहेको उल्लेख गर्दै राईले राष्ट्रिय स्वाभिमान र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने धारणा व्यक्त गरे।
जिल्लाको विकास निर्माणका कामलाई योजनाबद्ध ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै राईले आफू निरन्तर जनताको बीचमा रहेर काम गर्ने बताए।
उनले समाजमा व्यक्तिको भन्दा विचार र नीतिको कदर हुनुपर्नेमा जोड दिँदै सकारात्मक सोच र सहकार्यबाट मात्र समृद्धि सम्भव हुने धारणा राखे।
कार्यक्रम नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिबोल आचार्यको अध्यक्षताम भएको जनाइएको छ ।