खोटाङ, ३ चैत। गएराति वर्षासहित चलेको तीव्र हावाहुरीका कारण खोटाङ जिल्लामा दर्जनौँ घरगोठ तथा विद्यालयमा क्षति पुगेको छ।
करिब राति ८ बजेदेखि सुरु भएको हावाहुरीले विभिन्न स्थानका स्थानीयवासीको घरका छाना उडाउँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। हावाहुरीका कारण हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित छोर्तिपा टोलका मात्रै १५ घरको छाना उडेको छ।
त्यस्तै, सोही नगरपालिकाको बाहुनीडाँडा र धितुङ क्षेत्रमा थप २५ घरमा क्षति पुगेको नगरप्रमुख विमला राईले जानकारी दिइन्।
वडा नं.–८ धितुङका छविलाला सार्की, कमलबहादुर सार्की र मानबहादुर सार्कीका घरमा समेत हावाहुरीले क्षति पुर्याएको छ। क्षतिको यकिन विवरण संकलन गर्न वडा कार्यालयबाट जनप्रतिनिधिसहितको टोली परिचालन गरिएको जनाइएको छ।
यस्तै, रावाबेँसी गाउँपालिका–१ कुभिण्डे हरमटारका युवराज भट्टराई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका केशव पराजुली, कुमार श्रेष्ठ र रमेश श्रेष्ठ, तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडाका स्थानीयवासीका घरमा समेत छाना उडेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रकाश बुढाथोकीका अनुसार हावाहुरीबाट भौतिक संरचना र कृषिबालीमा ठूलो क्षति पुगेको भए पनि हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
प्रभावित परिवारलाई सुरक्षित राख्न प्रहरी टोली परिचालन गरिएको छ भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जापलास्थित जनता आधारभूत विद्यालयको भवनको छाना पनि उडेको छ।
जिल्लाका अन्य विद्यालयमा पनि क्षति पुगेको सूचना आएपनि यकिन विवरण आउन बाँकी रहेको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ।
हावाहुरीसँगै परेको असिनापानीले सडकमा रुख ढाल्दा जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। अवरुद्ध सडक सञ्चालनका लागि स्थानीय तहले जेसिबी परिचालन गरेका छन्।
त्यसैगरी, सामुदायिक रेडियो हलेसी एफएमको मुडेडाँडास्थित रिपिटर टावरमा क्षति पुग्दा प्रसारण सेवा अवरुद्ध भएको छ। हावाहुरीका कारण टावर भाँचिएर भुइँमा थुप्रिएको सञ्चालक समिति अध्यक्ष बिष्णुकुमार राईले जानकारी दिए ।
उता, हावाहुरीकै कारण अवरुद्ध भएको विद्युत सेवा भने पुनः सञ्चालनमा आएको छ। नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका अनुसार उदयपुरको जलजले र ओखलढुङ्गाबाट आउने ३३ केभी प्रसारण लाइनमा देखिएको समस्या समाधान भएपछि विद्युत सेवा सुचारु गरिएको हो।

