खोटाङ, ५ चैत । खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने महत्वपूर्ण सडकको कालोपत्र कार्य सुरु गरिएको छ ।
कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन गरिएको ३० करोड बजेटमध्ये १७ करोड ३० लाख ८२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेर निर्माण प्रक्रिया अघि बढाइएको हो ।
सम्झौताअनुसार बिहीबारदेखि सुरु भएको कालोपत्रे कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरि युएसजी–रक्तकन्या–हिमश्रृङखला जे.भी., काठमाडौंले कामको जिम्मा पाएको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिए ।
यस योजनाअन्तर्गत आहालेदेखि याम्खासम्म ८ दशमलव २ किलोमिटर सडक कालोपत्रे गरिनेछ ।
सडक निर्माण सम्पन्न भएपछि खानीडाँडा हुँदै खोटाङको दक्षिणी भेगसँग सिधा यातायात सम्पर्क स्थापित हुने र स्थानीय बासिन्दालाई आवतजावतमा सहजता हुनेछ ।
कोशी प्रदेश सरकारका निर्वतमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले आहालेमा आयोजित कार्यक्रममार्फत सडकको शिलान्यास गरेका हुन् । कार्यक्रममा उनले विकास निर्माणका काममा ढिलासुस्ती र अलमल्याउने प्रवृत्ति अब स्वीकार्य नहुने स्पष्ट पार्दै सम्बन्धित निकाय र निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिए ।
साथै उनले योजनाको प्रभावकारी कार्यान्वयनका लागि नागरिकलाई समेत निगरानीमा सक्रिय हुन आग्रह गरे । निर्वतमान मन्त्री राईका अनुसार यो सडक खोटाङको भित्री भू–भागमा प्रवेश गर्ने दोस्रो कालोपत्रे सुरु भएको सडक हो ।
यसअघि रसुवा–पाँचधारे सडकमा कालोपत्र कार्य सुरु भइसकेको छ भने खानीडाँडादेखि थामखर्क विमानस्थल जोड्ने अर्को सडकको टेन्डर प्रक्रिया पनि अघि बढिरहेको छ ।
निर्माण कम्पनीका साइड इन्चार्ज गोविन्द लामिछानेका अनुसार सडक कटिङ, नाली निर्माण, रिटेनिङ वाल, जाली, पाइप तथा कल्भर्ट जडान, सडक ढलान र अस्फाल्ट कालोपत्र यस योजनाका मुख्य कामहरू हुन् ।
उनले प्राकृतिक प्रकोप नआएमा आगामी असारअघि नै कालोपत्रेको मुख्य काम सुरु गर्ने योजना रहेको बताए । खोटाङमा पूर्वाधार विकासका काममा विगतमा ढिलाइ हुँदै आएको सन्दर्भमा यसपटक भने योजना समयमै सम्पन्न हुने अपेक्षा स्थानीयवासीले गरेका छन् ।
सडक कालोपत्रे सम्पन्न भएपछि यातायात सहज हुनुका साथै समय र लागत दुवै बचत हुने विश्वास गरिएको छ ।
दिक्तेल–खानीडाँडा–याम्खा–पञ्चमी सडक पूर्णरूपमा सञ्चालनमा आएपछि जिल्लाको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।