खोटाङ, ६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका ३० विद्यालयमा पानी शुद्धिकरण गर्ने उपकरण ‘बायो स्यान्ड फिल्टर’ हस्तान्तरण गरिएको छ। विद्यार्थीलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले उक्त उपकरण वितरण गरिएको हो।
रोटरी क्लब अफ जिन्दली (अस्ट्रेलिया) र रोटरी क्लब अफ याला (नेपाल) को सहयोगमा प्राप्त फिल्टर नगरप्रमुख तीर्थराज भट्टराईले एक कार्यक्रमबीच शुक्रबार सम्बन्धित विद्यालयका शिक्षकहरूलाई हस्तान्तरण गरेका हुन्।
सहयोगी संस्थाका प्रतिनिधि गोकुल दंगालका अनुसार यस अभियानले विद्यालयस्तरमा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। नगरपालिकाको समन्वयमा बेस्ट पानी प्रा.लि., ललितपुरले उपकरण जडान तथा व्यवस्थापनमा प्राविधिक सहकार्य गरेको छ।
फिल्टर जडानपछि विद्यार्थीहरूले सुरक्षित पानी पिउन पाउने, पानीजन्य रोगको जोखिम घट्ने तथा विद्यालयमा स्वच्छता अभ्यासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
स्थानीय तह, अन्तर्राष्ट्रिय सहयोगी संस्था र प्राविधिक साझेदारबीचको समन्वयले समुदायस्तरमा दिगो र प्रभावकारी सेवा विस्तारको उदाहरण प्रस्तुत गरेको सरोकारवालाहरूले बताएका छन्।
यो पहलले विशेषगरी ग्रामीण क्षेत्रका विद्यालयमा स्वास्थ्य सुरक्षा र जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
