खोटाङ, १७ चैत । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ खमारेस्थित देवी आधारभूत विद्यालयमा दुई वटा अक्षयकोष स्थापना गरिएको छ।
स्वर्गीय समाजसेवी तथा शिक्षासेवी बाबुराम सिग्देलको प्रथम स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रममा “स्व. बाबुराम सिग्देल स्मृति अक्षयकोष–२०८२” स्थापना गर्दै १ लाख ५१ हजार १५१ रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरिएको हो।
विराटनगर–५ निवासी तथा हाल काठमाडौंमा बसोबास गर्दै आएका सिग्देल परिवारका तर्फबाट कोषका संस्थापक शुवास सिग्देल, सन्तोष सिग्देल र सुमन सिग्देलले संयुक्त रूपमा उक्त रकम विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको खोटाङ सेवा समाज काठमाण्डाैका सचिव नवराज रोकाले जानकारी दिए।
स्थापित अक्षयकोषबाट प्राप्त हुने वार्षिक ब्याज रकम प्रत्येक वर्ष विद्यालयमा अध्ययनरत दुई जना गरिब तथा जेहेन्दार छात्र–छात्रालाई छात्रवृत्तिका रूपमा प्रदान गरिने जनाइएको छ।
कार्यक्रममा बोल्दै संस्थापक शुभाष सिग्देलले शिक्षा नै जीवन परिवर्तन गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै सानो पहलले पनि आर्थिक अभावका कारण पढाइमा समस्या भोगिरहेका विद्यार्थीको भविष्य उज्यालो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। सिग्देल परिवार र उक्त विद्यालयबीच ऐतिहासिक सम्बन्ध रहेको बताइएको छ।
विद्यालयको संस्थापक व्यवस्थापन समितिका अध्यक्ष स्व. बाबुराम सिग्देलका हजुरबुवा नारायणप्रसाद सिग्देल रहेका थिए भने उहाँका बुवा तथा परिवारका अन्य सदस्यहरूले पनि यही विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए।
यसै अवसरमा “स्व. डिल्लीप्रसाद–जोगमाया सिग्देल स्मृति अक्षयकोष” पनि स्थापना गरिएको छ। उक्त कोषका संस्थापक रमेश सिग्देलले विद्यालयलाई १ लाख ५५ रुपैयाँ हस्तान्तरण गरेका छन्।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरूले शिक्षा क्षेत्रमा यस्ता अक्षयकोष स्थापना जस्ता सामाजिक पहलले विद्यालयको शैक्षिक विकाससँगै विपन्न तथा जेहेन्दार विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।