खोटाङ । खोटाङको दिक्तेलमा एआइ (कृत्रिम बुद्धिमत्ता) जडित बृहत् विज्ञान प्रदर्शनी महोत्सव आयोजना हुने भएको छ। आगामी वैशाख ३ गतेदेखि ७ गतेसम्म सोल्मा डाँडागाउँस्थित शुभम् फाउन्डेसनकाे प्राङ्गणमा एआइ जडित बृहत् विज्ञान प्रदर्शनी महोत्सव आयोजना हुने भएको हो।
काेशी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र हिमालयन माविकाे संयुक्त आयोजनामा गर्न लागिएको प्रदर्शनीलाई जिल्लामै पहिलो पटक प्रविधिमैत्री तथा नवप्रवर्तनमुखी कार्यक्रमका रूपमा लिइएको महोत्सवका संयोजक सूर्यबहादुर राईले बताए ।
पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रमको उद्देश्य, तयारी अवस्था र अपेक्षित उपलब्धिबारे जानकारी दिएका हुन्। संयोजक राईका अनुसार प्रदर्शनीमार्फत विशेषगरी विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउने, एआइको प्रयोग तथा सम्भावनाबारे सचेतना फैलाउने र स्थानीय स्तरमै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थीले तयार पारेका विज्ञानसम्बन्धी परियोजना, एआइ प्रविधिमा आधारित नमुना प्रस्तुति तथा अन्तरक्रियात्मक स्टलहरू राखिने आयोजकले जनाएको छ।
यसबाट विद्यार्थीहरूलाई प्रविधिसँग नजिकबाट परिचित गराउनुका साथै सिर्जनशील सोच विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस्ता प्रविधिमुखी गतिविधिले ग्रामीण क्षेत्रमा विज्ञान र प्रविधिसम्बन्धी ज्ञान तथा सीप विस्तारमा महत्वपूर्ण योगदान पुग्ने जनाइएको छ ।
महोत्सवलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन सरोकारवाला निकाय, शैक्षिक संस्था तथा स्थानीय समुदायको सहकार्य आवश्यक रहेको आयोजकले जनाएको छ।
हिमालयन माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सप्तमणि राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, बरिष्ठ पत्रकार कृष्ण आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ साेल्माका वडाध्यक्ष धुर्वविक्रम राई, सुभम् फाउन्डेसनका निर्देशक तथा महोत्सवका संयोजक सुर्यबहादुर राई, हिमालयन माविका प्रधानाध्यापक पञ्चकुमार राई लगायत उपस्थित रहेको थियो ।