खोटाङ । जिल्ला समन्वय समिति खोटाङले विभिन्न क्षेत्रबाट जिल्लाको विकास, सेवा प्रवाह र सामाजिक रुपान्तरणमा योगदान पुर्याउने १९ जना व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ।
जिल्ला समन्वय समिति खोटाङको दशौँ जिल्ला सभाका अवसरमा पत्रकारिता, सामाजिक सेवा, खेलकुद, कृषि, स्वास्थ्य, उद्योग तथा विकास निर्माणलगायत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको हो।
दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभा हलमा बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य आरेन राईले सम्मानित व्यक्ति तथा संस्थालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । रोदिकखबर तथा खोटाङखबरका सम्पादक दिलीप खत्रीलाई खोटाङ जिल्लामा निष्पक्ष, सन्तुलित र सक्रिय पत्रकारिता गर्दै सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई जैविक विविधता संरक्षण, जलवायु अनुकूलनमा स्थानीय स्रोत परिचालन तथा पर्यटन प्रवर्द्धनमा योगदान गरेकोमा सम्मान गरिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले जानकारी दिए।
त्यसैगरी हलेसी तुवाचुङ नगरपालिकालाई महिला सशक्तीकरण तथा बालिका संरक्षण कार्यक्रम सञ्चालन गरेकोमा, जन्तेढुङ्गा गाउँपालिकालाई स्थानीय आर्थिक विकास मूल्याङ्कन, ब्लकस्तरीय कृषि उत्पादन र आवासीय विद्यालय सञ्चालनमा योगदान गरेकोमा सम्मान गरिएको हो।
यसैगरी साकेला गाउँपालिकालाई सरसफाइ तथा फोहोरमैला व्यवस्थापनमार्फत वातावरणीय सन्तुलन कायम गरेकोमा, रावावेशी गाउँपालिकालाई स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन तथा वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा उच्च अंक प्राप्त गरेकोमा तथा केपिलासगढी गाउँपालिकालाई बुहारी शिक्षा तथा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरेकोमा सम्मान गरिएको छ।
यस्तै, दिक्तेल अंग्रेजी आवासीय विद्यालयलाई सबैभन्दा बढी राजस्व दाखिला गरेकोमा, शुभद्रा–मदन फाउण्डेसनका निर्देशक सुर्य राईलाई सामाजिक तथा विकाससम्बन्धी कार्यमा योगदान पुर्याएकोमा सम्मान गरिएको जनाइएको छ।
खेलकुद तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै ध्रुव विक्रम राई र सञ्जय कुमार राईलाई सम्मान गरिएको छ। त्यस्तै जयनारायण राईलाई सिर्जनशील नेपाली कागज उद्योग सञ्चालन गर्दै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धन गरेकोमा, राजकिशोर साह लाई स्वास्थ्य सेवामा प्रशंसनीय योगदान दिएकोमा सम्मान गरिएको हो।
महेश रेग्मी लाई कोशी प्रदेशकै सबैभन्दा लामो १४८.४० मिटर लम्बाइको बुँवाखोलामा निर्माण गरिएको सडक पुल एक वर्षभित्र सम्पन्न गरेकोमा सम्मान गरिएको छ। उक्त पुलले जन्तेढुङ्गा गाउँपालिका र वराहपोखरी गाउँपालिकालाई जोड्ने काम गरेको छ।
यसैगरी जोसेफ रिजाललाई निर्माण व्यवसाय क्षेत्रमा योगदान दिएकोमा सम्मान गरिएको छ।
सामाजिक सेवा तथा भौतिक पूर्वाधार निर्माणमा सहयोग पुर्याएको भन्दै गोर्खा वेलफेयर ट्रष्ट अन्तर्गतको एरिया वेलफेयर अफिसलाई पनि सम्मान गरिएको छ।
त्यसैगरी रोशेस श्रेष्ठलाई खेल क्षेत्रमा योगदान दिएकोमा तथा सरला राई र जीवनाथ आचार्यलाई अगुवा कृषकका रूपमा सम्मान गरिएको जिल्ला समन्वय समितिले जनाएको छ।
सम्मान कार्यक्रमपछि जारी जिल्ला सभामा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरूले चालु आर्थिक वर्षमा गरेका काम तथा प्रगतिबारे प्रतिवेदन प्रस्तुत गर्ने क्रम जारी रहेको छ।
जिल्ला समन्वय समितिका अनुसार सभामा विकास निर्माण, सेवा प्रवाह तथा आगामी योजनाबारे समीक्षा तथा छलफल गरिएको छ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
सभाको उद्घाटन प्रतिनिधिसभा सदस्य आरेन राई ले गमलामा पानी हालेर गरेका थिए।