लगातारको अबिरल बर्षासँगै आएको पहिरोमा परी स्याङ्जामा ७ जनाको मृत्यु भएको छ। स्याङ्जाको वालिङ नगरपालिकामा ६ तथा कालीगण्डकी गाउँपालिकामा १ जनाको पहिरोमा परी निधन भएको हो।
वालिङ नगरपालिका वडा नं १४ स्थित एक घर पहिरोले पुरिदा घरमा रहेका १० जनामध्ये ६ जनाको शव निकाली सकिएको नगर उपप्रमुख कल्पना तिवारीले बताइन।
तीन जना अझै हराइरहेका छन। उनीहरुको खोजी कार्य जारी छ, नगर उपप्रमुख तिवारीले भनिन। एक जनाको भने जीवितै उद्धार गरिएको छ। मृतकको शनाखत नसकेको र विस्तृतमा विवरण आउन बाँकी रहेको उनले जानकारी दिइन।
यस्तै गएराति घरमाथिबाट खसेको पहिरोमा परी स्याङ्जाकै कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको छ ।
गएराति २ बजे गौतम टोलका मानबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्ण नेपालीको पुरिएर मृत्यु भएको हो।स्थानीयवासी र विर्घा प्रहरी चौकीका प्रहरीको पहलमा पहिरोमा पुरिएका कृष्ण नेपालीको शव निकालिएको प्रहरीले जनाएको छ ।