खोटाङ । कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिले महालेखा परीक्षकको कार्यालयले औंल्याएका बेरुजु तथा वित्तीय व्यवस्थापनका विषयमा शनिबार अनुगमन तथा छलफल गरेको छ।
सार्वजनिक लेखा समिति संयोजक तथा कोशी प्रदेश सभा सदस्य राजन राईको नेतृत्वमा आएको समितिको टोलीले शनिबार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय खोटाङको बेरुजु तथा फर्छ्यौटको अवस्थाबारेमा अनुगमन तथा छलफल गरेको हो।
टोलीले कार्यालयहरूले गरेको खर्च, योजनाको कार्यान्वयन अवस्था, वित्तीय अनुशासन, सेवा प्रवाह तथा महालेखाले औंल्याएका बेरुजुका विषयमा सम्बन्धित कार्यालय प्रमुखहरूसँग छलफल गरेको हो।
अनुगमनका क्रममा समितिले महालेखाले औंल्याएका बेरुजु समयमै फर्छ्यौट गर्न, योजनाहरूको कार्यान्वयनमा पारदर्शिता कायम गर्न तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउन आवश्यक सुझाव दिएको जनाएको छ।
सेवा प्रवाहलाई अझ व्यवस्थित र उत्तरदायी बनाउँदै वित्तीय सुशासन सुदृढ गर्न पनि समितिले सम्बन्धित कार्यालयलाई सचेत गराएको समितिका सदस्य तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका निवर्तमान मन्त्री भुपेन्द्र राईले जानकारी दिए।
अनुगमन टोलीले कार्यालयका जिम्मेवार अधिकारीहरूसँग आवश्यक कागजात तथा विवरण माग गर्दै महालेखाले औंल्याएका विषयलाई समयमै सुधार गर्नुपर्नेमा निर्देशन दिइएको निवर्तमान मन्त्री राईको भनाइ छ ।