शुक्रवार, भाद्र २६ गते २०८३

दिक्तेलमा जेठ ३ देखि ९ गतेसम्म खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३ हुँदै

दिक्तेलमा जेठ ३ देखि ९ गतेसम्म खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३ हुँदै

रोदिक खबर

२८, चैत्र २०८२
  • 1.5K
    SHARES
  • दिक्तेलमा जेठ ३ देखि ९ गतेसम्म खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३ हुँदै

    खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आगामी जेठ ३ गतेदेखि ९ गतेसम्म ‘तेस्रो बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ आयोजना हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते संघ खोटाङको संयुक्त आयोजनामा सात दिने महोत्सव सञ्चालन हुने भएको हो । खेलकुद, साहित्य र पर्यटन प्रवद्र्धनमार्फत खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

    नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईका अनुसार यसअघि सम्पन्न महोत्सवहरूले जिल्लाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ । उनले भने, “खेलकुदको माध्यमबाट खोटाङलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन र पर्यटकीय जिल्लाका रूपमा विकास गर्न तेस्रो पटक महोत्सव आयोजना गर्न लागिएको हो ।” जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन हुने महोत्सवमा एथलेटिक्ससहित खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजकले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

    महोत्सवमा १० वर्षमूनिका छात्रछात्राका लागि एक माईल, १२ वर्षदेखि १५ वर्षमूनिका छात्रछात्राका लागि सात किलोमिटर, ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीका लागि सात किलोमिटर दौड प्रतियोगिता हुने जनाइएको छ । यस्तै, आमाहरुका लागि पाँच किलोमिटर, ५५ वर्षभन्दा माथिका पुरुषको लागि दुई किलोमिटर तथा १५ वर्षभन्दा माथिका महिला÷पुरुषका लागि दश किलोमिटर खुला दौड प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

    १० वर्षमूनिका छात्रछात्राका लागि एक माईल दौडमा प्रथम, द्धितीय र तृतीय हुनेले नगद तीन हजार, दुई हजार र एक हजार, १२ वर्षदेखि १५ वर्षमूनिका छात्रछात्राका लागि सात किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले नगद सात हजार पाँच सय, छ हजार पाँच सय र पाँच हजार पाँच सय, ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीका लागि किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले नगद १५ हजार, दश हजार र सात हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

    यस्तै, आमाहरुका लागि पाँच किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले नगद पाँच हजार पाँच सय ५५,चार हजार चार सय ४४ र तीन हजार तीन सय ३३, ५५ वर्षभन्दा माथिका पुरुषको लागि दुई किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले नगद पाँच हजार पाँच सय, चार हजार चार सय र दुई हजार पाँच सय तथा १५ वर्षमाथिका महिला/पुरुष १० किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले नगद १५ हजार, १० हजार, सात हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । खुला बुद्धिचाल प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ र सातौँ हुनेले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार, आठ हजार, सात हजार र पाँच हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

    बुद्धिचाल र साहित्यिक प्रतियोगिता दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा तथा एथलेटिक्स माटीकोरे खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ । साहित्यतर्फ ख्यातिप्राप्त साहित्यकारहरुबीच आ–आफ्नो सिर्जना सुनाउने र सुन्न कार्यक्रम राखिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष राईले जानकारी दिए ।

    नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिने साहित्यिक महोत्सवमा कविता, जगल र मुक्तक सुनाउने र सुन्न कार्यक्रम राखिएको हो । महोत्सव सम्पन्न गर्न करिब ३० लाख १३ हजार २३२ रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिए । कार्यक्रम सफल बनाउन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

    महोत्सव समापनका अवसरमा खेलकुद, साहित्य तथा अन्य क्षेत्रका पाँचजना विशिष्ट व्यक्तित्वलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ । जिल्लाका १० वटै स्थानीय तह र शुभेच्छुकहरूको सहयोगमा सञ्चालन हुने महोत्सवमा देशभरका खेलाडी, धावक तथा साहित्यकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

    प्रकाशित मिति :चैत्र २८, २०८२ शनिवार - २०:२३:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको