खोटाङ । खोटाङको रावाबेसी गाउँपालिका–१ कुभिण्डेमा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डुम्रेधारापानीले जितेको छ । रावाबेसी गाउँपालिकाको आर्थिक सहयोग तथा कुभिण्डे खेलकुद विकास समितिको आयोजनामा रावाबेसी गाउँपालिका–१ कुभिण्डेमा सम्पन्न खुल्ला पुरुष भलिबलको उपाधि रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीले जितेकोे हो । प्रतिस्पर्धात्मक खेलमा कुभिण्डे उपविजेता बनेको छ । डुम्रेधारापानीले उपाधिसँगै नगद एक लाखको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको रावाबेसी गाउँपालिका–१ कुभिण्डेले नगद ५० हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
बिहिबार भएको फाइनल खेलमा रावाबेसी गाउँपालिका–१ कुभिण्डेलाई ३–१ को सेटमा पराजित गर्दै डुम्रेधारापानीले उपाधि जितेको हो । रावाबेसी गाउँपालिका–६ हौंचुर तेस्रो र डुम्रेधारापानीकै अर्को टिमले चौथो स्थान सुरक्षित गरेको छ । तेस्रो हुने हौंचुरले ३० हजार र चौथो हुने टिमले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।
कुभिण्डेका सबिन श्रेष्ठ ‘उत्कृष्ट खेलाडी’ घोषित भए । डुम्रेका रचन गुरुङ ‘बेस्ट ब्लकर’ बन्न सफल भए भने हौंचुरका सबिन श्रेष्ठ ‘बेस्ट स्पाइकर’ घोषित भए । अनुशासित खेलाडीतर्फ कुभिण्डेका भरत राई, डिफेन्डरतर्फ सुबास नेपाली, सेटरतर्फ डुम्रेका लबिन मगर तथा सर्वरतर्फ पुष्कर मगर उत्कृष्ट घोषित भए । बैशाख १ गतेबाट सुरु भएको यस प्रतियोगितामा जम्मा ८ टिम सहभागी भएका थिए ।
यस्तै, यसै अवशरमा गरिएको वडा स्तरीय सामुहिक नृत्य प्रतियोगितामा रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानी भोर्लेनी टिमले प्रथम स्थान हासिल गरेको छ भने रावाबेसी गाउँपालिका–१ कुभिण्डे दोस्रो, रावाबेसी गाउँपालिका–२ खार्पा रुभुङ तेस्रो र रावाबेसी गाउँपालिका–२ खार्पाकै अर्को टिम चौथो भएको छ । उनीहरुले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगदका साथमा प्रमाणपत्र प्राप्त गरेको जनाईको छ । प्रतियोगितामा जम्मा ४ टिम सहभागी भएका थिए ।
त्यसैगरी, डबल ब्याडमिन्टनतर्फ किसन अधिकारी र विजय आचार्यको जोडीले प्रथम स्थान हासिल गरेको छ भने भरत राई र पञ्च राईको जोडी दोस्रो, दिनेश खड्का र विवेकको जोडी तेस्रो ररम मगर र विशाल रेग्मी चौथो भएका छन् । बिजय टिमले क्रमश: १२ हजार, ८ हजार, ४ हजार र २ हजार नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा जम्मा ८ टिम सहभागी भएका थिए ।
यस्तै, डोरी तान्ने प्रतियोगितामा रोशन श्रेष्ठको टिम प्रथम, भरत राईको टिम दोस्रो, महेन्द्र ढकालको टिम तेस्रो र र सुजन तामाङको टिम चौथो भएका छन् । उनीहरुले ६ हजार, ४ हजार, ३ हजार र २ हजार नगदका साथमा प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा जम्मा ४ टिम सहभागी भएका थिए ।
स्थानीयस्तरमा खेलकुद तथा सांस्कृतिक गतिविधि प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले नयाँ वर्षको अवसरमा गाउँमा उत्साह थप्नुका साथै आपसी सद्भाव र एकता मजबुत बनाएको कुभिण्डे खेलकुद विकास समितिका अध्यक्ष रिमबहादुर मगरले बताए ।
भलिबल लगायत विभिन्न प्रतियोगिताका विजेताहरुलाई कोशी प्रदेशका भौतिक पूर्वाधार विकास÷स्वास्थ्य निर्वमान मन्त्री एवम् कार्यक्रमका प्रमुख अतिथि भुपेन्द्र राई, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला गुरुङ, प्रमुख प्रशासकीय अधिकृत राजेश दाहाल लगायतले पुरस्कार तथा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेको अध्यक्ष मगरले बताए ।