खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले महिला जनप्रतिनिधि तथा महिला समूहका सदस्यहरूका लागि नेतृत्व विकास तथा लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी तालिम सुरु गरेको छ।
महिला सशक्तिकरण र लैङ्गिक हिंसा न्यूनीकरणका लागि नगरपालिकाले तालिमकाे आयोजना गरेको हो।
महिलाहरूलाई अधिकार, अवसर, निर्णय प्रक्रियामा सक्रिय सहभागिता तथा हिंसाविरुद्ध सशक्त रूपमा आवाज उठाउने विषयमा व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको कार्यपालिका सदस्य मीना कार्कीले जानकारी दिईन ।
कार्यपालिका सदस्य कार्कीका अनुसार यस तालिमले महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै समाजमा विद्यमान लैङ्गिक हिंसाका घटनाहरू न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तालिमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई, प्रमुख प्रशासकिय अधिकृत राजकुमार राई, आन्तरिक लेखा परिक्षण अधिकृत मोहन भट्टराई, महिला शाखा प्रमुख इरन राई लगायतले गरिरहेका छन् ।
नगरका १५ वटै वडाबाट प्रत्येक वडाका २० देखि २५ जनासम्म महिलाहरूको सहभागिता रहेको जनाइएको छ।
महिला शाखाको सभा हल दिक्तेलको हाटडाँडामा मंगलबारदेखि सुरु भएको तालिम बैशाख १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।