खोटाङ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत २०८२ चैत्र १८ गते जारी गरेको सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासङ्घ खोटाङले जिल्ला समन्वय समिति खोटाङलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिबोल आचार्य नेतृत्वको टोलीले मंगलवार जिल्ला समन्वय समिति खोटाङका समन्वय उपप्रमुख सुरेशकुमार तामाङलाई ज्ञापन पत्र बुझाएको हो ।
सरकारी सो निर्णयले निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई समस्या पार्ने भन्दै उक्त निर्णय सच्याउन माग सहितको ज्ञापन पत्र जिल्ला समन्वय उपप्रमुख तामाङलाई बुझाउँदै जिल्लामा रहेका सम्पूर्ण पालिकाहरूलाई सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूको हित हुने विज्ञापनका विषयमा कार्य गर्न आग्रह गरिएको छ ।
सो अवसरमा पत्रकारहरूले सरकारी निर्णयले गर्दा निजी क्षेत्रबाट सञ्चालन भई रहेका सञ्चार माध्यमहरूलाई सञ्चालनमा समस्या हुने मात्र नभएर जिल्लाका कतिपय सञ्चारकर्मीको रोजगारीमा समेत असर पर्ने भन्दै सरकारी निर्णय सच्चाउन पहल गर्न समेत आग्रह गरेका थिए ।
ज्ञापन पत्र बुझ्दै जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख तामाङले सञ्चारमाध्यम तथा सञ्चारकर्मीको हकहितका पक्षमा आफू सधैँ प्रतिबद्ध रहेको जनाउँदै ज्ञापन पत्रका विषयमा आफू मातहतका निकायहरूमा जानकारी गराउने समेत बताए ।
ज्ञापन पत्र बुझाउन नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष आचार्य, निवर्तमान अध्यक्ष दिलीप खत्री, पूर्वअध्यक्ष डम्बरसिं राई, दमन राई, प्रेस सेन्टर नेपाल खोटाङका पूर्वअध्यक्ष सुर्य तामाङ, उपाध्यक्ष चिसाङ शेर्पा, सविना परियार, सचिव राजकुमार भट्टराई लगायत जिल्ला समन्वय समितिको कार्यालयमा पुगेका थिए ।