विराटनगर । विराटनगर विमानस्थल हुँदै काठमाडौं जान लागेका दुई जना यात्रु स्रोत नखुलेको ठूलो रकमसहित प्रहरी नियन्त्रणमा परेका छन् । नियमित सुरक्षा जाँचका क्रममा फरक–फरक उडानबाट यात्रा गर्न लागेका उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार दिउँसो श्री एयरलाइन्सको उडानमार्फत काठमाडौं जान लागेका भारत, माल्दा जिल्ला सुजागञ्जका ३६ वर्षीय मोहिदिल अलीलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो ।
उनको साथबाट १५ लाख ९८ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । यसअघि शुक्रबार राति बुद्ध एयरको उडानबाट काठमाडौं जान लागेका सुनसरीको धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलिप तामाङ पनि पक्राउ परेका थिए । उनको साथबाट ११ लाख रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवै जनाबाट कुल २६ लाख ९८ हजार रुपैयाँ बरामद गरिएको छ । यति ठूलो रकमको स्रोत खुलाउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीकी डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
हाल दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । प्रहरीले रकमको वास्तविक स्रोत, सम्भावित अवैध कारोबार तथा अन्य आपराधिक सञ्जालसँगको सम्बन्धबारे अनुसन्धान गरिरहेको जनाएको छ ।