शुक्रवार, भाद्र २६ गते २०८३

पालिका केन्द्र र नामको विवाद मिलेपछि निर्माण भयो सुविधा सम्पन्न भवन

पालिका केन्द्र र नामको विवाद मिलेपछि निर्माण भयो सुविधा सम्पन्न भवन

रोदिक खबर

३१, बैशाख २०८३
  • 1.6K
    SHARES
  • पालिका केन्द्र र नामको विवाद मिलेपछि निर्माण भयो सुविधा सम्पन्न भवन

    खोटाङ, ३१ वैशाख । केही वर्ष अघिसम्म सामान्य खेतीपाती भइरहेको सुनसान हरमटारमा रावाबेसी गाउँपालिकाको भब्य भवन निर्माण भएको छ । नेपाल संघीय संरचनामा गएसँगै गठन भएको रावा बेसी गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन हरमटारमा निर्माण भएको हो ।

    साविको कुभिण्डे, खार्पा, लामीडाँडा, डुम्रेधारापानी, दुवेकोल र हौँचुर गाउँ विकास समिति (गाविस)लाई समेटेर गठन भएको उक्त स्थानीय तहको नाम लामिडाँडा गाउँपालिका र केन्द्र खार्पा घोषणा भएको थियो । वर्तमान गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ लगायतको टोलीले अनसनसम्म बसेर उक्त उर्वर भूमीलाई छुट्टै स्थानीय तह निर्माण गर्न सफल भएका थिए ।

    केही समय खार्पामा सञ्चालन भएको गाउँपालिकाको कार्यालय सबैलाई पायक नपर्ने भन्दै आन्दोलनसमेत भएको थियो । त्यसपछि लिलानाथ निरौला नेतृत्वको तत्कालिन गाउँपालिकाको टिमले कुभिण्डेको हरमटार केन्द्र र रावा बेसी नाम रहने निर्णय गरेको थियो । हरमटारमा व्यक्तिको घर भाडामा लिएर सञ्चालनमा आएको गाउँपालिकाले स्थानीयबाट निःशूल्क जग्गा प्राप्त भएपछि केही समय पश्चात ट्रस भवन निर्माण गरेको थियो । ट्रस भवन हटाएर सोही ठाउँमा अहिले गाउँपालिकाको सुविधा सम्पन्न २१ वटा कोठा रहेको साढे चार तले भवन निर्माण भएको हो ।

    पालिकाको केन्द्र र नाम परिवर्तनमा अदालतमा मुद्दासमेत परेको थियो । सर्वोच्च अदालतले उक्त गाउँपालिकाको केन्द्र हरमटारनै कायम रहनेगरी फैसला यस अघि नै सुनाइसकेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । स्थायीरुपमा निर्माण भएको गाउँपालिकाको सुविधा सम्पन्न साढे चार तले भवन बिहिबार औपचारिकरुपमा उद्घाटन गरिएको छ ।

    पालिका अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष कौशिला कुमारी गुरुङले संयुक्तरुपमा भवनको उद्घाटन गरेका हुन् । संघीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेश दाहालले बताए । पाँच करोड ४८ लाख ४४ हजार ५८० रुपैयाँमा एसई–धुम–एमकेएस जेभीले ३० महिनाभित्र सक्नेगरी वि.सं. २०८० असोज–२१ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले सम्झौता मितिमै भवन निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्त्रण गरेपछि औपचारिकरुपमा उद्घाटन गरेर सोही भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।

    सम्झौता मिति भित्रै भवन निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायी लक्षुमण श्रेष्ठलाई गाउँपालिकाले सम्मान गरेको छ । यस्तै, भवन निर्माणमा प्रशासीय सहयोग गर्ने गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीलाई पनि सम्मान गरिएको । यस्तै, भवन उद्घाटनको अवसरमा पालिकालाई निःशूल्क जग्गा दिने काजिमान श्रेष्ठ, अमृत बहादुर सार्की, चन्द्र बहादुर सार्की, जित बहादुर सार्की, डिल्लीशेर राई, मान बहादुर श्रेष्ठ, भिम बहादुर राना मगर, पूर्ण बहादुर सार्की र टिका सार्की, घनश्याम श्रेष्ठ, दिल बहादुर श्रेष्ठ, लक्ष्मी नारायण श्रेष्ठ, तोयानाथ रेग्मी, लिलानारायण श्रेष्ठ, गोपाल श्रेष्ठ, नवराज पोखरेल र गंगा बहादुर भुजेललाई पनि पालिकाले सम्मान गरेको गाउँपालिकाका सूचना अधिकारी एवम् पञ्जीकरण शाखा प्रमुख गिरीराज रानामगरले जानकारी दिए ।

    सामान्य खेतीपाती भइरहेको सुनसान हरमटारमा रावा बेसी गाउँपालिकाको केन्द्र रहेसँगै अहिले बजारीकरणहुँदै गएको छ । गाउँपालिकाको सुविधासम्पन्न भवनसँगै कर्मचारी आवास, सभाहल र चिस्यान केन्द्र पनि निर्माण भइसकेका छन् । व्यवसायिकरुपमा ब्यक्तिका घरहरु पनि धमाधम निर्माण भइरहेका छन् । खोटाङ जिल्लाकै उर्वर भूमि मानिने रावा बेसी गाउँपालिका नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना ‘दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना’ को निर्माणस्थलसमेत हो ।

    प्रकाशित मिति :बैशाख ३१, २०८३ बिहिवार - २१:१३:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको