शुक्रवार, भाद्र २६ गते २०८३

याम्खा–पञ्चमी-थामखर्क सडक कालोपत्रेका लागि काम सुरु: दुई वर्षभित्र सम्पन्न गरिने

याम्खा–पञ्चमी-थामखर्क सडक कालोपत्रेका लागि काम सुरु: दुई वर्षभित्र सम्पन्न गरिने

रोदिक खबर

५, जेठ २०८३
  • 911
    SHARES
  • याम्खा–पञ्चमी-थामखर्क सडक कालोपत्रेका लागि काम सुरु: दुई वर्षभित्र सम्पन्न गरिने

    खोटाङ । खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी-थामखर्क जोड्ने महत्वपूर्ण सडकको कालोपत्रेका लागि निर्माण कार्य सुरु गरिएको छ ।

    कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन गरिएको ३० करोड बजेटमध्ये १७ करोड ४४ लाख १० हजार ६३३ रुपैयाँमा ठेक्का सम्झौता गरेर निर्माण प्रक्रिया अघि बढाइएको हो ।

    सम्झौताअनुसार सोमबारदेखि सुरु भएको कालोपत्रे कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरि पबित्रा-गाउँले जे.भी. गाइघाटले कामको जिम्मा पाएको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिए । यस योजनाअन्तर्गत याम्खादेखि डाँडागाउँको गुरुङडाँडासम्म ८ दशमलव २ किलोमिटर सडक कालोपत्रे गरिनेछ ।

    सडक निर्माण सम्पन्न भएपछि खोटाङको दिक्तेलदेखि दक्षिणी भेगसँग सिधा यातायात सम्पर्क स्थापित हुने र स्थानीय बासिन्दालाई आवतजावतमा सहजता हुनेछ ।कोशी प्रदेश सरकारका निर्वतमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले याम्खामा आयोजित कार्यक्रममार्फत सडकको शिलान्यास गरेका हुन् ।

    कार्यक्रममा उनले विकास निर्माणका काममा ढिलासुस्ती र अलमल्याउने प्रवृत्ति अब स्वीकार्य नहुने स्पष्ट पार्दै सम्बन्धित निकाय र निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिए । साथै उनले योजनाको प्रभावकारी कार्यान्वयनका लागि नागरिकलाई समेत निगरानीमा सक्रिय हुन आग्रह गरे ।

    निर्वतमान मन्त्री राईका अनुसार यो सडक खोटाङको भित्री भू–भागमा प्रवेश गर्ने दोस्रो कालोपत्रे सुरु भएको सडक हो । यसअघि रसुवा–पाँचधारे सडक र खानीडाँडा-आहालेदेखि याम्खा जोड्ने सडकको कालोपत्रेका लागि धमाधम काम भइ रहेको पूर्वाधार कार्यालय खोटाङले जनाएको छ।

    Screenshot_20260519_071829_Gallery(1).jpgकार्यालयका अनुसार सडक कटिङ, नाली निर्माण, रिटेनिङ वाल, जाली, पाइप तथा कल्भर्ट जडान, सडक ढलान र अस्फाल्ट कालोपत्र यस योजनाका मुख्य कामहरू हुन् । खोटाङमा पूर्वाधार विकासका काममा विगतमा ढिलाइ हुँदै आएको सन्दर्भमा यसपटक भने योजना समयमै सम्पन्न हुने अपेक्षा स्थानीयवासीले गरेका छन् ।

    सडक कालोपत्रे सम्पन्न भएपछि यातायात सहज हुनुका साथै समय र लागत दुवै बचत हुने विश्वास गरिएको छ । दिक्तेल–खानीडाँडा–याम्खा–पञ्चमी-थामखर्क सडक पूर्णरूपमा सञ्चालनमा आएपछि जिल्लाको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

    प्रकाशित मिति :जेठ ५, २०८३ मंगलवार - ०७:२१:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको