शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङमा पाँचदिने ‘खोज पत्रकारिता एवम् मल्टिमिडिया’ तालिम सुरु

खोटाङमा पाँचदिने ‘खोज पत्रकारिता एवम् मल्टिमिडिया’ तालिम सुरु

रोदिक खबर

५, जेठ २०८३
  • 757
    SHARES
  • खोटाङमा पाँचदिने ‘खोज पत्रकारिता एवम् मल्टिमिडिया’ तालिम सुरु

    खोटाङ। खोटाङमा ‘खोज पत्रकारिता एवम् मल्टिमिडिया’ सम्बन्धी पाँचदिने तालिम सुरु भएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासङ्घ खोटाङले जिल्लामा क्रियाशील पत्रकारहरूलाई सहभागी गराएर आज (मंगलवार) देखि जेठ ९ गतेसम्म पाँचदिने पत्रकारिता तालिमको आयोजना गरेको हो ।

    जिल्लामा क्रियाशील पत्रकारहरूलाई खोज पत्रकारितामा केन्द्रित गर्दै ‘डिजिटल’ पत्रकारितामा दक्ष बनाउन तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिबोल आचार्यले जानकारी दिए। “हामी पत्रकारहरू औपचारिकतामा सीमित भयौँ ।

    समाजमा लुकेर रहेका धेरै विषयवस्तुहरू हामीले उजागर गर्नुछ”, अध्यक्ष आचार्यले भने, “जिल्लामा क्रियाशील पत्रकारहरूलाई खोज पत्रकारितामा केन्द्रित गर्दै डिजिटल पत्रकारितामा दक्ष बनाउन तालिमको आयोजना गरेका हौँ ।

    दिक्तेल बजारस्थित होटल शुभदिनमा सुरु गरिएको पत्रकारिता तालिममा जिल्लामा क्रियाशील ३० जना पत्रकारहरूको सहभागिता पत्रकार महासङ्घ खोटाङका सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिए ।

    तालिममा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष डा.सुरेश आचार्यले खोज पत्रकारिता तथा विकास कार्कीले मल्टिमिडियाका बारेमा सहजीकरण गरिरहेका छन् ।

    पाँचदिने पत्रकारिता तालिमको औपचारिक उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले गरेका थिए ।

    तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टराईले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागी पत्रकारहरूलाई आग्रह गरे ।

    “पत्रकार समाजका पहरेदार हुन् । हामीले गरेका राम्रा तथा नराम्रा सबै विषय समाजमा पुर्‍याउनु पत्रकारको धर्म हो,” नगरप्रमुख भट्टराईले भने, “एउटा जनप्रतिनिधिले गरेका राम्रो कामले अरूलाई प्रशय मिल्छ ।

    नराम्रा कुराले दण्डित गर्न सहयोग मिल्छ । त्यसैले सत्य, तथ्य र निष्पक्ष भएर कमल चलाउन सबै पत्रकारहरूलाई आग्रह गर्छु ।” पत्रकारिता तालिममा छापा, रेडियो तथा अनलाइन सञ्चारमाध्यममा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको छ ।

    नेपालमा डिजिटल युग सुरु भएको अवस्थामा नेपाल पत्रकार महासङ्घ खोटाङले मल्टिमिडियासम्बन्धी तालिमको आयोजना गरेकाले आफूहरू उत्साहित बनेको सहभागी पत्रकारहरूले बताएका छन् । 

    प्रकाशित मिति :जेठ ५, २०८३ मंगलवार - २२:२०:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको