खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलको नेतृत्वमा गएको प्रशासनिक टोलीले मङ्गलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ लामीडाँडास्थित मानबहादुर खत्रीको घरमै पुगेर उनका अपाङ्गता भएका दुई छोरा २६ वर्षीय गणेश खत्री र २२ वर्षीय थिरबहादुर खत्रीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो।
शारीरिक अवस्थाका कारण जिल्ला प्रशासन कार्यालयसम्म आउन असमर्थ रहेका उनीहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन् ।
नागरिकता प्राप्तिसँगै उनीहरूले राज्यबाट प्राप्त हुने विभिन्न सेवा–सुविधा तथा अधिकारमा पहुँच सुनिश्चित गर्न सक्ने भएका छन्।
यस अवसरमा जिल्ला प्रशासन कार्यालय खोटाङले दुवै दाजुभाइलाई दुई थान न्यानो कम्बल (ब्ल्याङ्केट) समेत हस्तान्तरण गरेको छ। नागरिकता वितरणसँगै गरिएको उक्त सहयोगले मानवीय सेवाप्रतिको प्रशासनको संवेदनशीलता झल्काएको स्थानीयवासीले बताएका छन्।
नागरिकता वितरणका लागि आवश्यक समन्वय तथा सहजीकरण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लिला चौहानले गरेको जनाइएको छ।स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबीचको सहकार्यमा गरिएको उक्त कार्यलाई नागरिकमैत्री प्रशासनको उदाहरणका रूपमा हेरिएको छ।
प्रमुख जिल्ला अधिकारी कँडेलले राज्यका आधारभूत सेवाबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विशेष परिस्थिति भएका नागरिकसम्म सेवा पुर्याउने कार्यलाई निरन्तरता दिइने बताइन्।
नागरिकता वितरणका लागि गएको टोलीमा प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई, खरिदार सञ्जीव आचार्य लगायतको सहभागिता रहेको प्रशासनले जनाएको छ।
यसले प्रशासनिक सेवा केवल कार्यालयभित्र सीमित नभई आवश्यकता अनुसार नागरिककै घरदैलोमा पुग्न सक्ने सन्देश दिएको छ।