खोटाङ । खोटाङका पत्रकारहरू जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन्। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेपको अन्त्य तथा सूचना र विज्ञापनसम्बन्धी विभेदकारी निर्णय खारेजीको माग गर्दै खोटाङका पत्रकारहरू बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि दुई बजेदेखि तीन बजेसम्म एक घण्टा धर्नामा बसेका हुन्।
सूचना प्रवाह तथा सरकारी विज्ञापन वितरणका विषयमा भएका विभेदकारी र स्वेच्छाचारी निर्णयहरू तत्काल खारेज गर्नुपर्ने, सञ्चार क्षेत्रलाई कमजोर बनाउने नीतिगत व्यवस्थाहरू सच्याउनुपर्ने तथा स्वतन्त्र पत्रकारितामाथि हुने सबै प्रकारका दबाब र हस्तक्षेप अन्त्य गर्नुपर्ने माग राख्दै प्रशासनमा धर्ना दिइएको नेपाल पत्रकार महासंघ खोटाङ अध्यक्ष हरिबोल आचार्यले बताए ।
धर्नाका क्रममा सहभागीहरूले “प्रेस स्वतन्त्रता सुनिश्चित गर”, “संवैधानिक अधिकारको सम्मान गर”, “विभेदकारी सूचना तथा विज्ञापन नीति खारेज गर” लगायतका नारासहित धर्नामा बसेका थिए। धर्नामा जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो।