खोटाङ, ३० जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा सञ्चालित १६ हप्ते आई.पि.एम. (एकीकृत शत्रुजीव व्यवस्थापन) कृषक पाठशाला सम्पन्न भएको छ।
कृषि ज्ञान केन्द्र खोटाङको आर्थिक तथा प्राविधिक सहयोग र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कृषि शाखाको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको पाठशाला शनिबार सम्पन्न भएको हो।
पाठशालामा कृषकहरूलाई बालीको एक उत्पादन चक्रभरि खेतबारीमै आधारित व्यावहारिक तथा वैज्ञानिक कृषि प्रशिक्षण प्रदान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कृषि विकास शाखाका प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए।
उनका अनुसार कृषकहरूले बाली उत्पादन, रोग तथा कीराको पहिचान, जैविक तथा वातावरणमैत्री नियन्त्रण विधि, माटो व्यवस्थापन, बाली स्वास्थ्य परीक्षण तथा उत्पादन वृद्धि सम्बन्धी विविध सीप हासिल गरेका छन्।
कृषि ज्ञान केन्द्र खोटाङका अनुसार पाठशालाको मुख्य उद्देश्य रासायनिक विषादीको प्रयोग न्यूनीकरण गर्दै रोग तथा कीराको सही पहिचान गर्ने क्षमता विकास गर्नु, जैविक तथा प्राङ्गारिक खेती प्रवर्द्धन गर्नु, उत्पादन लागत घटाएर आम्दानी वृद्धि गर्नु तथा कृषकलाई आधुनिक र वैज्ञानिक खेती प्रविधिसँग परिचित गराउनु हो।
कार्यक्रममा सहभागी कृषकहरूले पाठशालाबाट प्राप्त ज्ञान र सीपले खेती प्रणालीलाई थप व्यवस्थित, सुरक्षित तथा उत्पादनमुखी बनाउन महत्वपूर्ण सहयोग पुगेको बताएका छन्।
विशेषगरी अकबरे खुर्सानी, काउली, सिमी, बन्दा लगायतका बाली उत्पादनमा संलग्न कृषकहरूले आई.पि.एम. प्रविधिको प्रयोगबाट रोग तथा कीरा व्यवस्थापनमा सकारात्मक परिणाम प्राप्त भएको अनुभव सुनाएका थिए।
बाम्राङका कृषक थामबहादुर पाण्डेले पाठशालाले कृषकहरूलाई वातावरणमैत्री तथा आधुनिक खेती प्रणालीबारे व्यावहारिक ज्ञान प्रदान गरेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए।
इन्दिरा खत्रीको अध्यक्षता तथा नगर कार्यपालिका सदस्य मिना कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदी, वडा सदस्य रेखा रम्तेल, सहायक बाली संरक्षण अधिकृत हरीनारायण राई, दिक्तेल क्याम्पसका उपप्राध्यापक लिलाबहादुर खत्री, नेपाल पत्रकार महासंघ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, सुर्के आधारभूत विद्यालयका प्रधानाध्यापक शिवबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको उद्देश्यबारे कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ दीपक चौहानले प्रकाश पारेका थिए भने २३ जना सहभागी रहेको कार्यशालामा उत्कृष्ट कृषक थामबहादुर पाण्डेलाई सम्मान गरिएको थियो । सो अवसरमा पाठशालामा सहभागी कृषकहरूलाई प्रमुख अतिथि तथा विशेष अतिथिहरूले प्रमाणपत्र वितरण गरेका थिए।कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।
