खोटाङ, असार ६ । खोटाङमा लागूऔषध दुरुपयोग र ओसारपसारविरुद्ध सप्ताहव्यापी अभियान सुरु भएको छ । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले खोटाङमा सप्ताहव्यापी अभियान सुरु गरिएको हो।
“लागुऔषधको चुनौती चिनौँ : सामाजिक समाधानको बाटो खोजौँ” भन्ने मूल नारासहित शनिबारदेखि जिल्लाभर अभियान सञ्चालन गरिएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङ र जिल्ला प्रशासन कार्यालय खोटाङको संयुक्त आयोजनामा दिक्तेल बजारमा प्लेकार्डसहित सचेतनामूलक र्याली निकालिएपछि जिल्ला समन्वय समिति खोटाङको प्राङ्गणमा औपचारिक कार्यक्रम गरी अभियानको शुभारम्भ गरिएको हो।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी रेखा कँडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
उद्घाटन कार्यक्रममा वक्ताहरूले लागूऔषध दुरुपयोग र अवैध ओसारपसारले व्यक्ति, परिवार तथा समाजमा गम्भीर सामाजिक, आर्थिक र मनोवैज्ञानिक असर पार्ने भएकाले यसको नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।
उनीहरूले विद्यालय, अभिभावक, समुदाय र सरोकारवाला निकायबीचको समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
वक्ताहरूले विशेषगरी युवापुस्तालाई लागूऔषधको जोखिमबाट जोगाउन समयमै सचेतना, परामर्श सेवा, सकारात्मक सामाजिक वातावरण र सहभागितामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।लागूऔषधमुक्त समाज निर्माणका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो।
सप्ताहव्यापी अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तह, विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, विद्यार्थी केन्द्रित अभियान, र्याली तथा जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा सुरु गरिएको अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै युवाहरूमा लागूऔषधका जोखिम र असरबारे चेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र न्यौपाने, वरिष्ठ अनुसन्धान अधिकृत रमेश अधिकारीलगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, शिक्षक–शिक्षिका, विद्यार्थी तथा सुरक्षा निकायका सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो।
समाजमा बढ्दो लागूऔषध चुनौतीलाई नियन्त्रण गर्दै सुरक्षित, स्वस्थ र जिम्मेवार पुस्ता निर्माण गर्ने लक्ष्यसहित अभियान सुरु गरिएको आयोजकले जनाएको छ।
