विराटनगर : विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा सोमबार मध्यराति रहस्यमय तथा अस्वाभाविक गतिविधि देखिएपछि स्थानीयवासी चकित बनेका छन् । राति करिब १२ः३० बजेतिर चिता बनाउने स्थानमा दाउरा बालेर बसेका ६ जना युवामध्ये केही निर्वस्त्र र अर्धनग्न अवस्थामा रहेका तथा आपसमा होहल्ला र अश्लील व्यवहार गरेको दृश्य भिडियोमा देखिएको स्थानीयले बताएका छन् ।
घटनामा एक युवक पूरै निर्वस्त्र र अर्का युवक अर्धनग्न अवस्थामा रहेका तथा उनीहरूबीच धकेलाधकेल र विवादसमेत भएको देखिएको बताइएको छ । बाँकी युवाहरू भने आगो वरपर बसेर हेरेको अवस्थामा रहेको दृश्य भिडियोमा देखिएको छ । स्थानीयका अनुसार उनीहरूले अश्लील शब्द प्रयोग गर्दै होहल्ला गरेको तथा आपसमा विवाद र अस्वाभाविक व्यवहार गरेको देखिएको थियो । घटनाबारे जानकारी पाएपछि स्थानीयवासी घटनास्थल पुगेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार सुरुमा दाहसंस्कार भइरहेको जस्तो देखिए पनि नजिक पुग्दा युवाहरू अस्वाभाविक अवस्थामा रहेको पाइएको थियो । स्थानीयले प्रहरीलाई खबर गरे पनि तत्काल प्रहरी नपुगेको गुनासो गरेका छन् । उनीहरूका अनुसार ती युवाहरू मदिरा वा अन्य नशाजन्य पदार्थको प्रभावमा रहेको जस्तो देखिएको थियो । घटनाका विषयमा स्थानीयस्तरमा अघोरी साधना वा मसानघाटसँग सम्बन्धित कुनै गतिविधि हुन सक्ने आशंका पनि गरिएको छ । तर त्यसको आधिकारिक पुष्टि हुन सकेको छैन ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले घटनाको भिडियो प्राप्त भएको र अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् । प्रहरीले युवाहरूको पहिचानका लागि विशेष टोली परिचालन गरेको जनाएको छ ।
विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेतले परोपकार घाट क्षेत्रमा पछिल्लो समय अनियन्त्रित गतिविधि भइरहेको जानकारी आएको भन्दै सुरक्षा व्यवस्था कडा बनाउन आवश्यक रहेको बताएका छन् ।घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूको पहिचान अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । ( प्रदेशखकर डटकमबाट ।)