खोटाङ । खोटाङको दिक्तेलमा भएको निबन्ध प्रतियोगितामा शिक्षा राई प्रथम भएकी छन्। जिल्ला प्रशासन कार्यालय खोटाङद्वारा आयोजित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा आयोजना गरिएको निबन्ध लेखन प्रतियोगितामा बाँसबोटे मावि लफ्याङकी शिक्षा राई प्रथम भएकी हुन्।
"युवा पुस्तामा लागुऔषध दुर्व्यसन न्यूनीकरणमा परिवार र समाजको भूमिका" विषयमा प्रतियोगितामा सरस्वती मावि दिक्तेलकी नम्रता दाहाल द्वितीय, ज्योति मावि जालपाकी पूर्णिमा परियार तृतीय र पञ्च मावि दिक्तेलका अभिषेक आचार्यले सान्त्वना स्थान हासिल गरेका छन् ।
विजेताहरूलाई क्रमशः प्रथमलाई पाँच हजार, द्वितीयलाई चार हजार, तृतीयलाई दुई हजार तथा सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीलाई एक हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका खरिदार सञ्जीव आचार्यले जानकारी दिए।
युवामा बढ्दो लागुऔषध दुर्व्यसन न्यूनीकरण, सचेतना अभिवृद्धि तथा परिवार र समाजको जिम्मेवारीबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ।
प्रतियोगितामा ८ जना विद्यार्थीको सहभागिता रहेको थियो। विजेता प्रतियोगीहरूलाई प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।