शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पहिरोका कारण ऐसेलुखर्कका ११ घर जोखिममा 

पहिरोका कारण ऐसेलुखर्कका ११ घर जोखिममा 

रोदिक खबर

८, आश्विन २०७७
  • 3.5K
    SHARES
  • पहिरोका कारण ऐसेलुखर्कका ११ घर जोखिममा 

    खोटाङ । पहिरोका कारण खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ११ घर जोखिममा परेका छन् । असोज २ गतेको भारी वर्षाका कारण ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी मावाका ११ घर स्थानीय जोखिममा परेका हुन् । बस्तीभन्दा तलबाट सुरु भएको पहिरोले स्थानीयको घर जोखिममा परेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

    पहिरोले दिलबहादुर राई, टेकबहादुर राई, जुनकिरी राई, लालबहादु राई, पर्शुराम राई, पुर्णबहादुर राई, मनकुमार राई, मुगाधन राई, प्रेमबहादुर राई, अम्बीर राई र नैनकुमार राईको घर जोखिममा पारेको हो ।

    केही समयअघि गाउँभन्दा माथि र तलबाट खनिएको सडकबाट पहिरो सुरु भएपछि जलेश्वरी मावाको वस्ती उठाउनुपर्ने अवस्था देखिएको छ । ‘वस्तीभन्दा माथि र तलबाट पहिरो गएको छ । अति नै जोखिम देखिएको छ,’ अध्यक्ष निरौलाले भने, ‘पहिरोको जोखिमका कारण वस्ती नै उठाउनुपर्ने अवस्था छ ।’ 

    बस्तीभन्दा तल खनिएको सडकको भित्ताबाट पहिरो सुरु हुँदा माथिल्लो क्षेत्रका वस्ती जोखिममा परेको हो । पहिलोभन्दा माथिका दिलबहादुर राई, टेकबहादुर राई र एकल महिला जुनकिरी राईको घर पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष नैनकुमार राईले बताए । पहिरो नरोकिए उनीहरुको घरभन्दा माथिको घर समेत क्रमशः जोखिममा पर्ने खतरा देखिएको छ ।

    २०७२ सालको भूकम्पपछि सो स्थानमा पलाएको पानी पनि पहिरोको कारण बनेको छ । हाल पाखा लच्किँदै क्रमशः पहिरोका रुपमा खस्ने क्रम जारी छ । वस्तीभन्दा माथिको पहिरो भने गत वर्ष जाली सहितको पर्खाल हालेर नियन्त्रण गरिएको वडाध्यक्ष राईले बताए । 

    यस्तै, पहिरोका कारण हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक अवरुद्ध भएको छ । वर्षाका कारण हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्ड अन्तरगत ऐसेलुखर्क गाउँपालिका–७ माक्पाको भदौरेमा पहिरो खस्दा असोज २ गतेदेखि सडक अवरुद्ध भएको हो । सडकमा खसेको पहिरो पन्छाउने प्रयास भइरहेको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष निरौलाले बताए । 

    प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - १८:०१:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको