फोरियो मह भीर, जोडियो खोटाङबाट तराई जाने छोटो दुरीको सडक

फोरियो मह भीर, जोडियो खोटाङबाट तराई जाने छोटो दुरीको सडक

रोदिक खबर

१३, आषाढ २०८३
  • 2.7K
    SHARES
  • फोरियो मह भीर, जोडियो खोटाङबाट तराई जाने छोटो दुरीको सडक

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित चर्चित घर्ती पहरा फोडेर सडक निर्माण गरिएको छ । आहाले–रेग्मीटार सडक खण्डको साप्सु खोला किनारमा रहेको घर्ती पहरा फोडेर सडक निकालिएको हो ।

    निर्माण कम्पनी कमल कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले करिब पाँच महिना लगाएर चट्टान काटेर घर्तीभीरमा सडक पार गराएको हो । जोखिम मोलेर काट्न थालिएको पहरामा असार ११ गते सडक छिचोलिएको हो । आहाले–रेग्मीटार–सगरमाथा राजमार्ग जोड्ने सडक स्तरोन्नती आयोजना अन्तरगत घर्ती पहरा काटेर सडक बनाइएको हो ।

    भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत प्राप्त १ करोड ७ लाख ७८ हजारमा सडक स्तरोन्नतीको काम सक्नेगरि २०८२ माघ ११ गते ठेक्का सम्झौता गरिएको थियो । आयोजनाको म्याद भने गत जेठ ३१ गते नै नाघिसकेको छ ।

    घर्तीभीर काटेर सडक बनाइएपछि असार १३ गते कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले आहाले–रेग्मीटार–सगरमाथा राजमार्ग जोड्ने सडक उद्घाटन गरेका छन् ।

    Screenshot_20260627_215702_Gallery(1).jpgविगतमा पनि घर्तीभीरलाई काटेर सडक बनाउने प्रयत्न गरिएको थियो तर कसैले आँट गरेका थिएनन् । सो भीर काटेर सडक बनाइएपछि दिक्तेलबाट उदयपुरको गाईघाट आउजाउ गर्ने छोटो दुरीको बाटो खुलेको छ ।

    सुरुमा दिक्तेलबाट महुरे–बुईपा–राजापानी–रेग्मीटार–फोक्सिङटार हुँदै गाईघाट जानेआउने गरिएको थियो । त्यसको विकल्पमा दिक्तेलबाट आहाले–राजापानी हुँदै रेग्मीटार पुगेर गाईघाट आउजाउ गर्ने गरिएको थियो । घर्तीपहरा काटेर त्योभन्दा सिधा र छोटो बाटो खोलिएको हो ।

    महभीर पनि भनेर चिनिने घर्तीभीरमा चट्टान काटेर मुस्किलले हिँड्न मिल्ने गोरेटो बाटो बनाइएको थियो । सडक बन्नुअघि ढाकर टेकुवा बोकेर पैदलयात्रा गर्दाताका सोही भीर पार गरेर तराई जानेआउने गरिएको थियो । सो भीरबाट कैयौंले लडेर ज्यान गुमाए, कैयौं खच्चडहरु साप्सु खोलामा खसेर मरेको किस्सा सुन्न पाईन्छ ।

    यस्तै, वर्षौँदेखि सडक विस्तारको प्रमुख अवरोध बनेको घर्तीभिरलाई चिर्दै सडक निर्माण सम्भव बनाउने साहसिक कार्यमा संलग्न दुई जना एक्स्काभेटर अपरेटर सम्मानित भएका छन्।

    जोखिमपूर्ण भूगोलमा निर्भीक रूपमा एक्स्काभेटर सञ्चालन गर्दै सडक निर्माणलाई सफल बनाएका सिन्धुलीका प्रकाश लामा र हेटौडाका प्रकाश पाख्रिन तथा निर्माण व्यवसायी अर्जुन बराललाई पूर्वाधार विकास कार्यालयले सम्मान गरेको हो।

    कार्यालयका अनुसार अत्यन्त चुनौतीपूर्ण चट्टानी भिरमा उच्च जोखिम मोलेर सडक विस्तारमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको हो।

    Screenshot_20260627_215940_Gallery(1).jpgयसै अवसरमा घर्तीभिरमा सडक निर्माणका क्रममा देखाएको साहस र समर्पणको सम्मानस्वरूप दुवै अपरेटरलाई नगद प्रोत्साहन पुरस्कारसमेत प्रदान गरिएको छ।

    नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष तथा समाजसेवी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ घर भई हाल काठमाडौं निवासी नरेश कटुवालले १५ हजार रुपैयाँ र समाजसेवी डिल्लीराम कटुवालले ५ हजार रुपैयाँ सहयोग गरेका थिए। उक्त २० हजार रुपैयाँ कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले दुई जना अपरेटरलाई जनही १०/१० हजार रुपैयाँका दरले हस्तान्तरण गरेका हुन्।

    स्थानीयवासीले वर्षौँदेखि विकासको बाधक बनेको घर्तीभिर फोडेर सडक सञ्चालनको बाटो खुल्नुलाई ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्। जोखिमपूर्ण क्षेत्रमा खटिने श्रमिक, अपरेटर र प्राविधिकहरूको योगदानको सम्मान तथा प्रोत्साहनले भविष्यमा यस्ता चुनौतीपूर्ण पूर्वाधार आयोजनामा संलग्न जनशक्तिको मनोबल थप उच्च हुने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :आषाढ १३, २०८३ शनिवार - २२:०४:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको