खोटाङ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडामा झन्डात्तोलन उद्घाटनसँगै सरुवा भएका दुई कर्मचारीलाई बिदाइ गरिएको छ। वडा नं. ९ का वडाध्यक्ष दिनेश कठेतको अध्यक्षतामा आयोजित ‘झन्डात्तोलन उद्घाटन तथा कर्मचारी बिदाइ एवं फेरि भेटौँला’ कार्यक्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलाका वडाध्यक्ष भगेश्वर राईले झन्डात्तोलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा वडा सचिवका रूपमा कार्यरत रहँदै हालै सरुवा भएका धुर्वराज राई र सञ्जीव मुग्रातीलाई मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गरिएको थियो।
झन्डात्तोलन उद्घाटन तथा कर्मचारी बिदाइ कार्यक्रममा स्थानीयवासीको तर्फबाट आफ्नो धारणा राख्दै भीम लुइँटेलले सरुवा भएका कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै उनीहरूले पुर्याएको सेवाको स्थानीय समुदायले सधैँ स्मरण गर्ने बताए। उनले आगामी कार्यजीवन सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरे।
यस्तै, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ का वडाध्यक्ष दानबहादुर राईले कर्मचारीहरूको समर्पण, सेवाभाव र कार्यकुशलताको उच्च मूल्यांकन गर्दै जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य स्थानीय विकासको आधार भएको बताए।
प्रमुख अतिथि भगेश्वर राईले बिदाइ भएका कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै उनीहरू जहाँ कार्यरत भए पनि जनसेवा, पारदर्शिता र कर्तव्यनिष्ठालाई निरन्तरता दिन आग्रह गरे। उनले स्थानीय सरकार प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय तथा सहकार्य अपरिहार्य रहेको धारणा राखे।
वडा कार्यालयको सभा हलमा भएको कार्यक्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ का वडाध्यक्ष महेन्द्रबहादुर राई, वडा नं. ६ का वडाध्यक्ष माधव राई, वडा नं. ७ का वडाध्यक्ष हरि चौलागाईं, कार्यपालिका सदस्यद्वय मीना कार्की र मनिला राई, नेपाल पत्रकार महासंघ खोटाङ शाखाका निवर्तमान अध्यक्ष दिलीप खत्रीलगायत जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
