शुक्रवार, भाद्र २६ गते २०८३

चलचित्रदेखि समाजसेवासम्म : नवल खड्काको प्रेरणादायी बहुआयामिक यात्रा

चलचित्रदेखि समाजसेवासम्म : नवल खड्काको प्रेरणादायी बहुआयामिक यात्रा

रोदिक खबर

१, श्रावण २०८३
  • 2.0K
    SHARES
  • चलचित्रदेखि समाजसेवासम्म : नवल खड्काको प्रेरणादायी बहुआयामिक यात्रा

    खोटाङ । नेपाली चलचित्र क्षेत्रका चर्चित नायक, निर्माता, लेखक, निर्देशक तथा सामाजिक अभियन्ता नवल खड्का कला, सामाजिक अभियान र संस्थागत नेतृत्वलाई समानान्तर रूपमा अघि बढाउँदै आएका बहुआयामिक व्यक्तित्वका रूपमा परिचित छन्।

    दुई दशकभन्दा लामो चलचित्र यात्रासँगै सामाजिक उत्तरदायित्व र राष्ट्रिय हितका मुद्दामा निरन्तर सक्रिय रहँदै आएका खड्काले कला र समाजसेवालाई एकै सूत्रमा बाँध्ने प्रयास गरेका छन्।

    हाल उनी सत्यम् शिवम् सुन्दरम् फिल्म्स प्रा.लि., सामना फिल्म्स प्रा.लि., गोल्डेन आइ फिल्म्स प्रा.लि., हिमालयन अर्गानिक सेलिब्रेटी कम्पनी प्रा.लि. तथा खोटाङ सेवा समाजका अध्यक्ष हुन्।

    यसअघि उनले नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र कलाकार संघ, खोटाङ महासमाज, बागेश्वरी सेवा समाज, चलचित्र विकास बहुउद्देश्यीय सहकारी संस्था, डी.एन. कन्स्ट्रक्सन तथा द रिलेसन साप्ताहिक लगायतका विभिन्न संघ–संस्थाको नेतृत्व सम्हालिसकेका छन्।

    उनी ग्लोबल स्ट्यान्डिङ कमिटीका उपाध्यक्ष तथा खड्का सिम्पानी समाजका अध्यक्षसमेत हुन्। विभिन्न समयमा दुई दर्जनभन्दा बढी संघ–संस्थाको नेतृत्व गरेको अनुभव उनीसँग रहेको छ। सामाजिक अभियानका क्षेत्रमा पनि खड्काको भूमिका उल्लेखनीय मानिन्छ।

    उनी वाग्मती सफाइ महाअभियानका प्रारम्भिक अभियन्ता तथा अवधारणाकर्ता हुन्। त्यस्तै, नेपालको सीमामा काँडेतार लगाउनुपर्ने अभियानका प्रमुख अभियन्ताका रूपमा राष्ट्रिय सुरक्षा, स्वाभिमान र सीमासम्बन्धी विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्।

    चलचित्र क्षेत्रमा उनले दशगजा, आवाज, देशद्रोही, क्रान्ति, मनै त हो, गुन्यूचोली, अधुरो प्रेम, चन्द्र–सूर्य, तिम्रै लागि, भीमदत्त, मायाबसेछ र काँडेतार लगायत दुई दर्जनभन्दा बढी चलचित्रमा नायक, निर्माता, लेखक तथा निर्देशकका रूपमा योगदान दिएका छन्।

    उनका अधिकांश चलचित्र देशभक्ति, सामाजिक चेतना, राष्ट्रिय एकता र समसामयिक विषयवस्तुमा केन्द्रित रहेका छन्, जसले उनलाई सामाजिक सन्देशमूलक चलचित्रकर्मीका रूपमा अलग पहिचान दिलाएको छ।

    खड्काले अमेरिका, बेलायत, क्यानाडा, अष्ट्रेलिया, जापान, चीन, भारत, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड, कतार, ओमान, संयुक्त अरब इमिरेट्स (दुबई), हङकङ र भुटानलगायत ३० भन्दा बढी देशको भ्रमण गरी विकास, सुशासन र समृद्धिसम्बन्धी अभ्यासको प्रत्यक्ष अध्ययन गरेका छन्।

    उनको कला, समाजसेवा र राष्ट्रप्रतिको योगदानको सम्मानस्वरूप नेपाल सरकारले 'प्रबल जनसेवा श्री (चौथो)' पदकबाट विभूषित गरेको छ। चलचित्र ‘काँडेतार’ का लागि उनले चलचित्र विकास बोर्डबाट उत्कृष्ट लेखन पुरस्कारस्वरूप १० लाख रुपैयाँ प्राप्त गरेका छन्।

    त्यसैगरी, कलिउड सिने अवार्ड–२०५३ मा चलचित्र ‘गुन्यूचोली’ बाट सर्वोत्कृष्ट नव–नायक घोषित भएका खड्का स्वदेश तथा विदेशका एकहजार भन्दा बढी संघ–संस्थाबाट नायक, निर्माता, निर्देशक, लेखक तथा सामाजिक अभियन्ताका रूपमा सम्मानित भइसकेका छन्।

    चलचित्र सिर्जना, सामाजिक अभियान र संस्थागत नेतृत्वलाई सँगसँगै अघि बढाउँदै आएका खड्काले नेपाली समाजमा कला र सामाजिक उत्तरदायित्वबीच सशक्त सेतु निर्माण गर्ने व्यक्तित्वका रूपमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेका छन्।

    प्रकाशित मिति :श्रावण १, २०८३ शुक्रवार - २०:५१:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको